काठमाण्डौ । सुनचाँदी व्यवसायीहरुको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निकट भविष्यमै सरकारले सुनको दैनिक कोटा बढाउने भएको छ । 

विवाहको सिजनमा देशभित्र सुनको उच्च माग हुने, तर त्यसलाई सम्बोधन गर्ने गरी आपूर्ति व्यवस्था चुस्त नहुँदा तस्करीको सुनले प्रवेश पाएपछि सरकारका एजेन्सीहरुले समेत व्यवसायीहरुको लामो समयदेखिको माग सम्बोधन गर्ने प्रयासलाई अगाडि बढाएका हुन् । यही क्रममा सुनको दैनिक कोटामा ५ केजी थप गर्न लागिएको हो ।  

नेपाल राष्ट्रबैंकका एक अधिकारीका अनुसार सुनको दैनिक कोटा बढाउन वाणिज्य मन्त्रालयमा एक महिनाअघि नै प्रस्ताव गरिएको र यो बिषयले चाँडै निश्कर्ष पाउनेछ । केन्द्रीय बैंकले सुनको दैनिक कोटा साबिकको २० किलोग्रामलाई बढाएर २५ किलोग्राम पुर्याउन प्रस्ताव गरेको थियो, यही प्रस्तावलाई वाणिज्यले स्वीकृति दिने अन्तिम तयारी गरिरहेको छ । 

वाणिज्य मन्त्रालयका एक अधिकारीले राष्ट्रबैंकबाट कोटा बढाउने सिफारिस प्राप्त भएको उल्लेख गर्दै सो बिषयको अध्ययन अन्तिम चरणमा रहेको र एकदुई दिनमै कोटा बढाउने गरी निर्णय हुने दाबी गरे । सुनको कोटा बढाउँदा त्यसले ‘कुल आयातमा कस्तो अध्ययन गर्छ, सुनको आयात बढ्दा डलरको माग कति हुन्छ’ लगायतका बिषयमा अध्ययन भइरहेको बताइएको छ । मन्त्रालय स्रोतले आगामी ४ महिनासम्मका लागि मात्रै दैनिक कोटामा ५ केजी वृद्धि गर्ने गरी तयारी थालिएको बताएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले यसअघि उपलब्ध कोटा सिजनको समयमा अपुग हुने गरेको प्रष्ट्याए । सिजनमा सुनको माग दैनिक ५० केजीसम्म पुग्ने गरेको र पर्याप्त कोटा नपाउँदा तस्करीको सुनले बजार पाएको उनको दाबी छ । उनका अनुसार माघको पहिलो साताभित्रै कोटा बढाइदिए यसले थोरै भए पनि विवाहको सिजनमा व्यवसायीलाई राहात दिनेछ । 

कतिपय व्यवसायीहरुले भने सिण्डिकेट र कार्टेलिङ हुने गरेको, स्वीकृत कोटाको ७० प्रतिशत सुन उपत्यकाका व्यवसायीहरुले मात्रै कब्जा गर्ने गरेका दाबी गर्दै सुनको कोटा प्रणाली नै खारेजीको माग गर्दै आइरहेका छन् । यहीकारण सरकारी अधिकारी र सरोकारवालाहरुले समेत स्वीकृत कोटाको सुनको वितरण प्रणाली पारदर्शी र न्यायिक हुनुपर्नेमा जोड दिंदै आएका छन् । यसले देशका ७७ वटै जिल्लामा छरिए रहेका सुनचाँदी व्यवसायीहरुले थोरै भए पनि राहात पाउनसक्ने उनीहरुको भनाई छ ।