काठमाण्डौ । अन्ततः अन्तिम अवस्थामा एनएमबी बैंकको एफपीओ संस्थागत लगानीकर्ताले ठूलो परिमाणमा उठाएपछि मागभन्दा बढी आवेदन परेको छ । सुरुवाती चरणमा कम आवेदन पर्दै आएको बैंकको एफपीओमा अन्तिम अवस्थामा १५ प्रतिशत बोनस सेयरको प्रभावले माग भन्दा बढी आवेदन परेको हो । 

बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार असार २८ गते(अन्तिम दिन)सम्म एफपीओमा ७० हजार ६ सय ५० आवेदकबाट ३ अर्ब ८८ करोड बराबरको आवेदन परेको हो । यो बैंकले कुल ३ अर्ब ८० करोडको एफपीओ निश्कासन गरेको थियो । यसअनुसार एफपीओमा मागभन्दा २.१० प्रतिशत बढी आवेदन परेको हो । 

पछिल्लो दिन निकै ठूलो परिमाणमा संस्थागत लगानीकर्ताले एफपीओ खरीदका लागि आवेदन दिएकाले बाँडफाँडको क्रममा थोरै संख्यामा आवेदन दिनेहरुले माग गरेअनुसारकै कित्ता पाउने बताइएको छ । 

एफपीओमा सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै दुईलाख १० हजार कित्ताका लागि आवेदन गरेको छ । ग्लोबल आइएमई समुन्नत योजना १ ले एक लाख ५० हजार कित्ता, सिद्धार्थ ओरेन्टल स्कीमले एकलाख २० हजार कित्ताका लागि आवेदन गरेका छन् । त्यस्तै सानीमा इक्वीटी, एशियन लाइफ लगायतका कम्पनीहरुले पनि एकलाख भन्दा बढी कित्ताका लागि आवेदन गरेका बिक्री प्रबन्धकको भनाई छ ।

एनएमबी बैंकले प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँको दरले गत जेठ ३० गतेदेखि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरेको थियो । पहिलो चार दिन सर्वसाधारणका लागि मात्र निश्कासन गरिएको एफपीओ त्यसपछि भने सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताका लागि खुल्ला गरिएको थियो । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गरी साँझसम्म पनि एफपीओ बिक्री नभए शुक्रबारदेखि बैंकका संस्थापक तथा संचालक र तिनका परिवारका लागि एफपीओको बिक्री खुल्ला गरिने बताएको थियो । तर, निर्धारित समयमै सबै एफपीओ  बिक्री भएकोले संस्थापक र संचालक तथा तिनका परिवारले खरीद गर्ने अवसर पाउने छैनन् ।

बैंकले ३३३ रुपैयाँ एफपीओ निश्कासन गरेलगत्तै दोश्रो बजारमा यसको सेयर मूल्य लगातार घटेर एफपीओको नजिक आइपुगेको थियो । दोश्रो बजारमा भाउ घटेपछि लगानीकर्ताले लामो समयसम्म यो बैंकको एफपीओ खरीदमा खासै इच्छा व्यक्त गरेनन् । तर, असार २६ गते बैंक संचालक समितिको बैठकले सेयरधनी र एफपीओ पर्नेले समेत पाउने गरी १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । बैंकको बोनस सेयरले एफपीओमा आवेदन दिनेको संख्या एकाएक बढेको देखिएको हो ।