काठमाण्डौ । रुसले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकास गर्नमा सफलता प्राप्त गरेको छ । मंगलबार रुसका राष्ट्रपति भलादिमिर पुटिनले यसको पुष्टि गरेका हुन् । 

राष्ट्रपति पुटिनले यो भ्याक्सिनको पहिलो डोज दिइएकाहरुमध्ये उनकी छोरी पनि रहेको बताएका छन् । 

रुसमा कोरोनाभाइरसविरुद्धको भयाक्सिन विकास गरिएको र प्रयोगका लागि दर्ता समेत भएकोे समाचारमा उल्लेख गरिएको छ । यो भ्याक्सिनको नाम ‘स्पुन्तीक भि’ राखिएको छ । ‘स्पुन्तिक भि’ सोभियत युनियनले सन् १९५७ मा पहिलोपटक लन्च गरेको सेटेलाइटको नाम हो । 

यो भ्याक्सिनले सबैभन्दा महत्वपूर्ण तेस्रो चरणबाट गुज्रन भने बाँकी नै रहेको छ । तेस्रो तथा अन्तिम चरणको परीक्षणमा हजारौं मानिसहरुलाई यो भ्याक्सिन लगाइँदैछ । 

रुसका अनुसार यो भयाक्सिनमा विश्वका २० वटा देशहरु र केही अमेरिकी कम्पनीहरुले चासो देखाएका छन् । 

मंगलबार आयोजित एक छलफलका क्रममा पुटिनले आफ्नी दुई छोरीहरुमध्ये एकले रुसमा विकास भएको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको जानकारी दिएका हुन् । भ्याक्सिन लगाएपछि आफ्नी छोरीमा कुनै पनि साइड इफेक्ट नदेखिएको र उनी पूर्ण रुपमा ठीक रहेको बताएका छन् । यसका साथै उनले परीक्षणका क्रममा यो भ्याक्सिन प्रभावकारी साबित भएको र यो कोरोनाभाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न पनि सक्षम रहेको बताएका छन् । 

रसियाले यो भ्याक्सिन प्रयोगका लागि स्वीकृति समेत दिएको छ । 

-सिएनएनबाट