काठमाण्डौ । अन्ततः भरतपुरमा पासा पल्टिएको छ । एमाले कार्यकर्ताहरुकै अन्तरघातका कारण एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीलाई पछार्दै माओवादी कांग्रेस गठबन्धनकी उम्मेद्वार रेणुु दाहालले मेयर पदमा जित हासिल गरेकी छिन् । 

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । रेणुुको जितसँगै माओवादी अध्यक्ष प्रचण्ड तथा उनका पिताको अर्को राजनीतिक मिसन समेत पूरा भएको छ । 

भरतपुर महानगरपालिकामा पहिलो चरणमै निर्वाचन भए पनि वडानम्बर १९ को मतगणनाको क्रममा हार्ने अवस्था भएपछि योजनाअनुसार नै माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने काम गरेका थिए । त्यसपछि सो वडामा पुनः निर्वाचन गराउने चलखेलहरु भएका थिए । प्रमुख निर्वाचन आयोगलाई समेत हातमा लिएर पुनः निर्वाचन गराउन सिफारिस गरी निर्वाचन आयोगमा लेखी पठाएपछि आयोगले पुनः निर्वाचन गराउन भनेको थियो । तर, एमालेको तर्फबाट एक स्थानीय कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि यो प्रक्रिया केही लम्बियो । अन्तित सर्वोच्चले समेत वडानम्बर १९ मा पुनः निर्वाचन गर्नु भन्ने आयोगको निर्देशनलाई नै सदर गरिदिएपछि साउन २० गते सो वडामा पुनः निर्वाचन भएको थियो । 

वडानम्बर १९ मा भएको पुनः निर्वाचनमा खसेको मतमध्ये अधिकांश मत रेणुुले आफ्नो पोल्टामा पारेकी थिइन् । यतिसम्मकी उनको निकै लामो प्रयास र चलखेलपछि सो वडाका १३१ एमाले कार्यकर्ताले देवी ज्ञवालीलाई भोट हालेनन् । यसैका कारण पछाडि धकेलिएका देवी ज्ञवाली २० नम्बर वडामा समेत लगातार पछाडि पर्दा दाहालको जित सुनिश्चित बनेको हो । 

भरतपुरको उपमेयरमा कांग्रेसकी पार्वती शाह फराकिलो मत अन्तरले विजयी भएकी छिन् । भरतपुरको यो जितसँगै विभिन्न रेकर्डहरु समेत बनेका छन् । महानगरको पहिलो महिला मेयर हुने अवसर रेणुुले पाएकी छिन् भने महानगरको प्रमुख दुुई पद मेयर र उपमेयरमै महिला रहेको महानगर समेत भरतपुर बनेको छ ।