काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकको एकसाताअघिको विवादास्पद कारोबार रद्ध गरेको छ । 

धितोपत्र बोर्डले मंगलबार दिएको निर्देशनलाई कार्यान्वयनमा लग्दै नेप्सेले अघिल्लो बुधबार(भदौ २१) गतेको नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक र साधारण सेयरतर्फको सम्पूर्ण कारोबार रद्ध गरेको हो । 

मंगलबार बोर्डले भदौ २१ को कारोबार रद्ध गर्न निर्देशन दिंदै नेप्सेलाई समेत ७ दिने स्पष्टीकरण सोधेको थियो । इन्भेष्टमेन्ट बैंकले १ घण्टाको अवधिमा फरक–फरक सूचना जारी गर्दा पनि नेप्सेले किन प्रभावकारी भूमिका निर्वाह गरेन भन्ने बिषयमा समेत बोर्डले स्पष्टीकरण मागेको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंकले सो दिन गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको भन्दै नेप्सेको वेबसाइटमा सूचना प्रकाशित गरेको थियो । त्यसको एकघण्टा पनि नबित्दै ‘टाइप मिस्टेक’ भएको भन्दै पहिलो सूचनामा संसोधन गरी २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरणको चाहि निर्णय भएको दाबी गरिएको थियो । 

बजार तथा बैंकको सेयर मूल्यमा प्रभाव पर्ने गरी गलत सूचना प्रवाह भएको बिषयलाई बैंकको अक्षम्य गल्ती भन्दै लगानीकर्ताहरुले त्यसको तीव्र विरोध गरेका थिए । केही लगानीकर्ताले पहिला प्रवाह भएको सूचना अनुसारकै लाभांश कार्यान्वयन हुनुपर्ने माग गरेका थिए भने धेरैले चाहि सो दिनको कारोबार नै रद्ध गर्न माग गरेका थिए । 

लगानीकर्ताहरुको हितलाई ध्यानमा राखेर धितोपत्र बोर्डले सोही दिन इन्भेष्टमेन्ट बैंकसँग तीनदिने स्पष्टीकरण सोधेको थियो । बैंकले आइतबार(भदौ २५) गते लिखित स्पष्टीकरण दिइसकेको छ । 

त्यसअघि बोर्डले यही प्रकरणमा सिडिएससीलाई भदौ २१ गतेको इन्भेष्टमेन्ट बैंकको कारोबार राफसाफ नगर्न निर्देशन दिएको थियो ।