काठमाण्डौ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ ।

केन्द्रीय बैंकले दुुई हप्ते अवधिको रिपो उपकरणमार्फत सो पैसा बजारमा पठाउन लागेको हो । 

हाल बैकिंग प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताइएको छ । 

बुधबार ३ बजे अक्सन हुने रिपो आगामी चैत १४ गते परिपक्व हुनेछ । रिपोको ब्याजदर ५ प्रतिशत रहेको छ । 

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ भने ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।

५ प्रतिशत ब्याजदरमा आवश्यकता अनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट रिपो जारी गर्ने सकिनेछ । बोलकबोलमा यस बैंकले काउण्टरपार्टी भनी तोकेका “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र भाग लिन पाउनेछन् ।

रिपो उपकरण प्रयोग गर्नको लागि तोकिए बमोजिमका सुरक्षणपत्र (टे«जरी बिल, विकास ऋणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्र) धितो राख्नु पर्नेछ भने रिपो बोल गर्दा काण्टरपार्टीले लिन चाहेको बोल रकम उल्लेख गर्नुपर्ने तथा धितो राख्न चाहेको सुरक्षणपत्रको विवरण समेत उल्लेख गर्नुपर्ने छ।

बोलकबोलमा न्यूनतम रु.१ करोड वा रु.१ करोडले भाग जाने अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

नेपाल राष्ट्रबैंकले अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आ.व.२०७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था गरिएको थियो । उक्त व्यवस्थालाई क्रमशः लागू गर्ने क्रममा दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि, २०७३ कार्यान्वयनमा छ ।