काठमाण्डौ । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन प्रणालीले काम गरेन । उच्च खरीदबिक्रीको चाप धान्न नसक्ने सिस्टममा बिहीबार समेत पहिलाकै जस्तै समस्या देखिएको थियो । 

यो दिन नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड बढीको संस्थापक सेयर एकैपटक खरीदबिक्री भएको हो । योसहित बजारमा सेयर खरीदको चाप बढ्दै जाँदा अन्तिम अवस्थामा १० मिनेट साइटमा कारोबारको सही अवस्थालाई सर्वसाधारणले हेर्न पाएनन् । यसले समाधान भइसकेको भनिएको समस्या यथावत रहेको र अहिलेको सिस्टमले ठूलो खरीदबिक्रीको चाप धान्न नसक्ने प्रमाणित हुने भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । 

साताको अन्तिम कारोबार दिन अघिल्लो दिनको करेक्सनबाट माथि उठ्दै नेप्से परिसूचक ५.४ अंकले बढेर ११५५.५० को विन्दूमा फर्किएको छ । 

यो दिन कारोबार रकम ४८ करोड ५८ लाख माथि भएको छ । तर, नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड बढीको संस्थापक सेयर यो दिन किनबेच भएको छ । 

राम्रा कम्पनीमा खरीदको चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.३६ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४४ अंकले बढेको छ । 

उत्पादनमूलक समूहमा ०.२३ अंकको गिरावट आए पनि बाँकी सबै समूहको सूचकमा सुधार देखिएको छ । 

बैंकिङ समूह ४.५९ अंकले बढेको छ भने विकास बैंक समूहमा २२.५४ अंक, जीवन बिमा समूहमा ५.३७ अंक, निर्जीवन बिमा समूहमा २२.०८ अंक, होटल समूहमा ४०.०९ अंक, जलविद्युत समूहमा ४.६७, बित्त समूहमा ५.०५ अंक, माइक्रोफाइनान्स समूहमा २.११ अंक र अन्य समूहमा २.३ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता सेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ रुपैयाँमा किनबेच भएको छ । 

नेशनल लाइफको २१ करोड बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनसीसी बैंकले १ करोड ९४ लाख बढीको कारोबार गर्यो भने नेशनल लाइफको १ करोड ५७ लाख बढीको साधारण सेयर समेत कारोबार भयो । 

अपर तामाकोशीले १ करोड ३६ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३० लाख, प्राइम कमर्सियल बैंकले ९२ लाख, प्रभू बैंकले ९० लाख, एनएमबी बैंकले ८९ लाख बढीको कारोबार गरे। 

गण्डकी विकास बैंकको ८४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले ८० लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तिनाउ विकास बैंक र यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । 

रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले घट्यो ।