काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाका बीच पनि लगानीकर्ताले सेयर खरिदारी बढाउँदा बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । 

अन्यौलका बीच समेत लगानीकर्तामा देखिएको खरीद मोहले उनीहरुको बढ्दो मनोबल प्रष्ट्याउँछ । 

विगत केही दिनदेखि एकातिर नेप्से परिसूचक उकालो लागिरहेको छ भने अर्कोतर्फ कारोबार रकम पनि समानान्तर ढंगले उक्लिरहेको छ ।

परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ यसरी निरन्तर बढ्दै जानुले बजारमा सुखद भविष्यको संकेत गर्ने विश्लेषक बताउँछन् । 

पछिल्लो समय बजारमा संस्थागत लगानीकर्ताहरु समेत सलबलाउन थालेका छन् । ‘अब बजार बढ्छ’ भन्ने विश्लेषकहरुको प्रक्षेपणका बीच ‘पर्ख र हेर’को रणनीतिमा रहेका सामान्य लगानीकर्ताले समेत खरिदारी बढाएका छन् । 

यी सबै कारणले बजार परिसूचक बग्रेल्ती समस्याकाबीच पनि दोहोरो अंकले बढेको छ । 

केही प्राविधिक विश्लेषकहरुले बजारमा निकै लामो समय चलेको बियरिस ट्रेण्ड अन्त भएको र अब बुल सुरु हुने प्रक्षेपण निरन्तर गर्दै आएका छन् । लगानीकर्ता यस्ता प्रक्षेपणप्रति आशावादी देखिएका छन् । 

यहीकारण प्यानको अन्यौल, अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाका बीच समेत बजारमा खरीद चाप देखिएको हो । 

यी विविध कारणले बढिरहेको बजारमा सोमबार १४.२८ अंकको वृद्धि देखियो । नेप्से परिसूचक बढेर ११४२.९३ विन्दूमा पुगेको यो दिन ४० करोड बढीको कारोबार भयो । 

यो दिन ‘अन्य समूह’मा १.६२ अंकको झिनो गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भए ।

जलविद्युत समूह र बैंकिङ समूहको सूचक अरुको तुलनामा चम्किए । जलविद्युत समूह २७.९७ अंक( २.४७ प्रतिशत) र बैंकिङ समूह १७.१८ अंक(१.७८ प्रतिशत)ले बढे । 

जीवन बिमा समूह ६.३६ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ७९.७२ अंक, माइक्रोफाइनान्स समूहमा १४.२३ अंक, विकास बैंक समूहमा १०.१७ अंक, व्यापार समूहमा २.७ अंक, होटल समूहमा १२.१४ अंक, बित्त समूहमा २.५७ अंक र उत्पादनमूलकमा ३.९६ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता सेयर ४० करोड २८ लाख ४० हजार २१३ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योेरेन्सले २ करोड ८९ लाख बढीको कारोबार गर्यो । आकर्षक लाभांश घोषणापछि यो कम्पनीको सेयरमा निरन्तर खरीद चाप देखिइरहेको छ । 

बजारमा एनआइसी एशियाले २ करोड २१ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले २ करोड १७ लाख, एनसीसी बैंकले १ करोड ८२ लाख, अपर तामाकोशीले १ करोड ७१ लाख बढीको कारोबार गरे । 

नवील बैंकको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भएको दिन नागरिक लगानीकोषले १ करोड ३४ लाख बढीको कारोबार गर्यो । 

नवील बैंककै १ करोड ११ लाख बढी साधारण सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ९८ लाख र जनता बैंक नेपालले ८९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ङादी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८.७७ प्रतिशतले वृद्धि भयो । 

यस्तै, कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.८४ प्रतिशतले आफ्नो सम्पत्ति बढाए ।

यो दिन सेन्ट्रल फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।