काठमाण्डौ । नेपाल बैंकको एफपीओमा दिउँसो ३ बजेसम्म डेढ अर्ब बढीको आवेदन परेको छ । 

बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार मध्यान्हसम्ममा नेपाल बैंकको एफपीओमा ह्वात्तै आवेदन बढेको हो । 

मध्यान्ह १२ बजेसम्ममा नेपाल बैंकको एफपीओमा १ अर्ब ७ करोड १० लाख १६ हजार ८ सय रुपैयाँ बराबरको आवेदन परेकोमा ३ बजेसम्म डेढ अर्ब बढीको आवेदन परिसकेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

यो अवधिसम्म करिब २५ हजार आवेदकले एफपीओ खरीदका लागि दरखास्त पेश गरेका छन् । 

यो बैंकको एफपीओमा शुक्रबार साँझसम्म कुल रु.६८ करोड ६३ लाख ५१ हजार रुपैयाँको आवेदन परेको थियो । 

यो बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले निश्कासन गरेको हो । 

बैंकले कुल १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । आइतबार(आज) पनि सबै कित्ता बिक्री नभए बैंकका संस्थापक सेयरधनी र तिनका परिवारले आवेदन दिन पाउने गरी एफपीओको बिक्री खुल्ला गर्नेछ । त्यसपछि पनि पूरै आवेदन नपरे अण्डरराइट गर्ने मर्चेन्ट बैंकहरुले नबिकेको कित्ता सकार्र्नुपर्नेछ । यसरी एफपीओ बिक्री नहुँदा बैंकलाई कुनै घाटा छैन, अण्डरराइट गर्ने न्यून पूँजी भएका मर्चेन्ट बैंकहरुलाई एफपीओ नबिक्दा सबैभन्दा बढी आपत पर्ने देखिन्छ ।

नेपाल बैंकको एफपीओमा एकाएक बढ्यो आवेदन, १.०७ अर्बको खरीद प्रस्ताव 

बैंकले असार १५ देखि एफपीओ निश्कासन गरेको थियो । छिटोमा असार १९ गतेसम्म आवेदन दिनुपर्ने भए पनि बिक्री नभएपछि त्यसको म्याद बढाई ढिलोमा  साउन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो । असार २० गतेदेखि बैंकको एफपीओमा संस्थागत लगानीकर्ताको आवेदन समेत खुल्ला गरिएको थियो । 

यो कम्पनीको आइतबारको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य  प्रतिकित्ता २८९ रुपैयाँ रहेको छ । 

बैंकले यो आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई सहजै २५ प्रतिशतसम्म बोनस सेयर वितरण गर्नसक्ने हैसियत बनाएको छ ।