काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा अपर तामाकोशीको सेयर चाहि एकाएक चम्किन थालेको छ । 

अपर तामाकोशीको सेयर मूल्य दैनिकजसो बढ्नु र बुधबार त कारोबार सुरु भएको केही मिनेटमै पोजिटिभ सर्किट लाग्नु पछाडि ठूलो कारण केही देखिएको छ । 

शिवममा जसरी हल्लाले काम गर्यो, अपरमा पनि त्यस्तै दृश्यहरु देखिएका छन् । अपर तामाकोशीको सेयर मूल्य बढेर ७०० माथि पुग्छ भन्ने ह्वीम बजारमा फैलिएपछि अधिकांशले यो कम्पनीको सेयर उठाइरहेका छन् । 

यहीकारण मार्केट डेप्थमा अपरको सेयरमा उच्च खरीद चाप छ । बुधबार पोजिटिभ सर्किट लाग्दासम्म कम्पनीको सेयरमा २ लाख ६० हजार भन्दा माथि खरीद अर्डर पुगिसकेको छ । बिक्रीतर्फ कुनै अर्डर पोष्ट भएको देखिन्न । 

बुधबार १० प्रतिशतले मूल्य बढेर प्रतिकित्ता ३०५ रुपैयाँ पुगेको छ । खरीद अर्डरतर्फको परिमाण थपिँदै गएका कारण यो कम्पनीको मूल्य अझै बढ्ने स्पष्ट देखिन्छ । 

शिवम सिमेन्टमा समेत ठूला कारण बिना नै सेटिङमा मूल्य बढाउने खेल खेलिएको थियो । यथार्थहरुको पर्दा उघ्रिने क्रमसँगै यो कम्पनीको सेयर मूल्यमा दैनिकजसो गिरावट आउन थालेकोछ । 

अपरमा समेत यस्तै सेटिङकै आधारमा मूल्य बढाउन थालिएको त होइन ? भन्ने विषयलाई चनाखोका साथ हेरेर, अध्ययन गरी खरीदबिक्रीको निर्णय लिनु बुद्धिमानी हुनेछ ।