काठमाण्डौ । कर फछ्र्यौट आयोगका २ अधिकारी अदालतले माग गरेअनुसार धरौटि रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन् । तर, सोही आयोगका सदस्य सचिव तथा राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा बयान दिन समेत नआई अटेर गरेर घरमै बसिरहेका छन् ।

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग विशेष अदालतले जनही एककरोडको दरले धरौटी माग गरेको हो । धरौटी बुुझाउन नसकेपछि उनीहरु मंगलबारदेखि डिल्लीबजार जेल चलान भएका छन् । 

विशेष अदालतका न्यायाधीश रत्नबहादुर बागचन, बाबुराम रेग्मी र द्वारिकमान जोशीको संयुक्त इजलासले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्धामा आयोगका पदाधिकारीलाई दोषी ठहर गर्दै सो रकम धरौटी मागेको थियो । 

तत्कालीन कर फछ्र्यौट आयोगका अधिकारीहरुको मिलेमतोमा राज्यलाई करोडौं घाटा हुने गरी जथाभावी कर छुटको नाममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका सदस्य सचिव चूडामणि शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेलगत्तै अध्यक्ष महत र सदस्य ढकाल फरार थिए । 

करिब साढे ४ महिना भागी हिँडेका उनीहरु दुवैजना बुधबार अदालतमा उपस्थित भएका थिए । 

यसैबीच, आयोगमार्फत विभिन्न व्यापारी व्यवसायीलाई अनियमित ढंगले २१ अर्ब बढी कर छुट दिएको आरोपमा अख्तियारले गत जेठ १९ गते चूडामणि शर्मालाई नियन्त्रणमा लिएको थियो । अख्तियारले शर्मासहितका आयोगका पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगोदाबीसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो । 

तर, यही बीचमा सर्वोच्च अदालतले चूडामणि शर्मालाई भने सादा तारेखमा छाड्न साउन अन्तिम साता आदेश दिएको थियो । 

सो आदेशपछि पनि अख्तियारले बयानका लागि अदालतमा उपस्थित हुन शर्मालाई पटक पटक आग्रह गरे पनि उनी अटेर गरी घरमै बसेका छन् । उनलाई अदालतमा उपस्थित हुनका लागि अख्यितारले उनको घरमा कैयौ पटक म्याद टाँसे पनि त्यसलाई शर्माले बेवास्ता गर्दै आइरहेका छन् ।