काठमाण्डौ । दोलखा जिल्लाका बासिन्दाहरुका लागि अपर तामाकोशी हाइडोपावर लिमीटेडले खुलाएको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा रु. २ अर्ब बढीको आवेदन परेको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमध्येको एक सनराइज क्यापिटलका एक अधिकारीका अनुसार शुक्रबारसम्ममा १ लाख दोलखालीले आइपीओ खरीदका लागि आवेदन दिएका हुन् । आवेदन दिने समय अझै बाँकी रहेको र आवेदन केन्द्रमा दोलखालीहरुको निकै ठूलो भीड रहेकोल अझ धेरै आवेदन पर्ने देखिएको छ । 

दोलखा जिल्लाबासीका लागि भदौ १४ गतेसम्म आवेदन दिने समय तय गरिएको छ । 

माथिल्लो तामाकोशीले पहिलो चरणमा १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर दोलखाबासीका लागि निश्कासन गरेको हो । दोश्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि निश्कासन हुने बताइएको छ । 

कम्पनीले गत साउन १६ गतेबाट दोलखालीका लागि खुलाएको आइपीओमा न्यूनतम ३० देखि अधिकतम ३ सय कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

आइपीओ संकलनका लागि दोलखास्थित विभिन्न बैंकका २६ शाखामा आवेदन केन्द्र तोकिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र समेत राखेर आवेदन लिने क्रम जारी छ । 

राजधानीमा बसोबास गर्ने दोलखालीका लागि भने भदौ १ गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो । काठमाण्डौबाट हजारौं दोलखालीले सनराइज बैंकका तोकिएको ११ शाखामा पुगेर आइपीओ खरीदका लागि आवेदन दिएका थिए ।