काठमाण्डौ । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आईपीओ बाँडफाँड कात्तिकभित्रै नहुने लगभग निश्चित भएको सहनिष्कासनकर्ता नागरिक लगानीकोषले जनाएको छ ।

कोषका शेयर शाखा प्रमुख रोशनजंग बस्नेतकाअनुसार यसअघि स्थानीयबासी र सञ्चयकर्ता लगायतका लगानीकर्ताले पनि दोहोरो आवेदन दिएका हुनाले धमाधम सर्टिङ भइरहेको छ । तीनपुस्ते विवरण रुजू गर्दा समय लागेकाले सकभर मंसिर १ र त्यो संभव नभए मंसिर पहिलो हप्ता तामाकोशीको प्राथमिक सेयर बाँडफाँड भइसक्ने बस्नेतको दाबी छ ।

तामाकोशीको धितोपत्र निष्कासनकर्ताको रुपमा सनराइज क्यापिटल र नागरिक लगानीकोष रहेका छन् । 

कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणका लागि प्रतिकित्ता रु १ सयका दरले गत कात्तिक १५ गतेदेखि कात्तिक १९ सम्म निश्कासन गरेको थियो।

माथिल्लो तामाकोशीजलविद्युत् कम्पनीको साधारण शेयर(आइपीओ)मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । 

शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्रबोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ । 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ताका लागि आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउनसक्ने देखिन्छ । 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।