काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार नखुल्दै अपर तामाकोशीको सेयरमा उच्च खरीद चाप देखिएको छ । 

कम्पनीको सेयरमा खरीद अर्डरको थुप्रो लागे पनि बिक्री गर्ने भने कोही देखिएको छैन । 

यो कम्पनीमा उच्च खरीद चाप रहेका कारण बिहीबार बजार खुलेको केही मिनेटमै १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढिसकेको छ ।

कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भई प्रतिकित्ता ३ सय ११ रुपैयाँ पुगेको हो ।

केही मिनेटमै कम्पनीको मूल्य प्रतिकित्ता २८ रुपैयाँ बढेको देखिएको छ । 

अपर तामाकोशीकै कारण नेप्से परिसूचक समेत बजार खुलेदेखि नै बढ्दो लयमा कुदेको छ । 

लगानीकर्ताले अपर तामाकोशीको सेयरबाट केही मिनेटमै ३ अर्बको हाराहारीमा सम्पत्ति बढाएका छन् । 

यो कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता २८ रुपैयाँको दरले मूल्य बढेका कारण लगानीकर्ताहरुको सम्पत्तिमा करिब ३ अर्बले बढोत्तरी भएको हो । 

बजार खुलेको २० मिनेटभित्र यो कम्पनीमा ६ लाख ५७ हजार बढीको खरीद अर्डर पोस्ट भएको छ । तर, बिक्री अर्डर सोअनुसार आउन नसक्दा म्याचिङ(खरीद अर्डर कार्यान्वयन) भएको छैन । 

दैनिकको यो उच्च खरीद चाहनाले समेत यो कम्पनीको सेयर मूल्य निकै माथि पुग्ने देखिन्छ ।