काठमाण्डौ । अपर तामाकोशीको सेयर मूल्य विभिन्न गिरोहहरुको मिलेमतोमा सुनियोजित ढंगले बढाउने खेल भइरहेको छ । 

बजारमा उच्च खरीद चाप देखाएर कम्पनीको मूल्यमा तीव्र चलखेल भइरहेको हो । 

यही चलखेलका कारण आइतबार कारोबार खुलेको केही मिनेटमै यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि नियन्त्रणका लागि नेप्सेले सर्किट लगाएको हो । 

यो कम्पनीको सेयर दोश्रो बजारमा सूचिकृत भई कारोबार खुलेपछिको प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ । 

यसमा बजारसँग सरोकारवाला सबै पक्षको मिलेमतो रहेको स्रोतहरुले बताएका छन् । 

खासमा हरेक दिनको मार्केट डेप्थमा उच्च खरीद चाप देखाएर कम्पनीको सेयर मूल्य बढाउने खेल भइरहेको छ । 

अपर तामाकोशीको दोश्रो बजार मूल्य बढेर ३४२ रुपैयाँ पुगिसकेको छ । 

यो समाचार तयार पार्दासम्मको अवधिमा मार्केट डेप्थमा खरीद अर्डर मात्र २ लाख १४ हजार बढी देखाइएको छ । जुन प्राकृतिक होइन । 

एक ब्रोकर र अर्का एक अनुभवी लगानीकर्ताका अनुसार बजारमा मूल्य बढाउने चलखेलकै लागि समेत आवश्यक भन्दा धेरै खरीद अर्डर देखाउने काम भएको छ । ‘मार्केट डेप्थमा देखिएको उच्च खरीद चाप सही होइन, अन्य कम्पनीको पनि मूल्य बढाउनुपर्यो भने हामीले मिलेमतोमा यसै गर्ने हो ।’ नाम उल्लेख नगर्ने शर्तमा ती लगानीकर्ताले भने–‘खरीदमा देखिएको उच्च चाप कृत्रिम हो, ब्रोकरहरुको समेत सहयोगले केही समूहबाट यस्तो काम हुँदै आएको छ ।’ 

बजार मूल्य बढाउने यो शैलीको बिषयमा नियामक धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारी समेत जानकार छन् । तर, यसरी हुने इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्ने तदारुकता अहिलेसम्म कतैबाट पनि देखाइएको छैन। 

सुनियोजित रुपमा अपर तामाकोशीको सेयर मूल्य रु. ५०० भन्दा माथि पुर्याएर ठूलो परिमाणको सेयर होल्ड गरेकाहरुले सर्वसाधारणलाई महंगोमा सेयर थमाई मार्केटबाट एक्जीट हुने(बाहिरिने) खेल अहिले चलिरहेको बताइएको छ । यसमा केही संस्थागत लगानीकर्ताहरुको समेत सक्रिय सहभागिता छ । 

जानकारहरुका अनुसार यस्तो बेलामा मूर्गा बन्नबाट सर्वसाधारण लगानीकर्ताले जोगिनुपर्दछ । सुनियोजित रुपमा बिक्री गर्नैका लागि मूल्य बढाइएको भन्दै यो खेलप्रति सजग हुन समेत लगानीकर्तालाई उनीहरुले आग्रह गरेका छन् ।