काठमाण्डौ । भारतका केही विज्ञहरुले आगामी तीन वर्षभित्रमा एटीएम मेसिन अर्थहीन बन्ने दाबी गरेका छन् । विश्व नै नगदरहित बैकिङ प्रणालीतर्फ तीव्र गतिमा उन्मुुख भइरहेको उल्लेख गर्दै उनीहरुले भारत लगायतका देशहरु आगामी तीन वर्षभित्र एटीएम हराएर जाने दाबी गरेका हुन् । 
उनीहरुले भारत, नेपाल, बंगलादेश, श्रीलंका जस्ता मुलुकमा एटीएमको चलन हराउने र मोवाइलमार्फत कारोबार वृद्धि हुने बताएका छन् । 

भारतको जयपुरमा जारी ब्रेब न्यू वल्र्ड, द भर्चुअल इकोनोमी एण्ड बियोण्ड नामको विशेष कार्यक्रममा सहभागी विज्ञ वक्ताहरुमध्ये धेरैले एटीएम निकट भविष्यमै हराएर जाने बताएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

भारतको नीति आयोगका प्रमुख कार्यकारी अधिकारी अमिताभ कान्तले डिजिटल अर्थव्यवस्था तीव्र गतिमा अगाडि बढेकोले अब एटीएमको युग समेत हराएर जाने दाबी गरे । ''अहिले पनि भारत, नेपाल लगायतका मुलुुकमा ८० प्रतिशत बढी कारोबार नगदमै भइरहेको छ ।'' उनले थपे-'' तर यो क्षेत्रमा मोवाइल फोनका प्रयोगकर्ताको वृद्धि तीव्र बनिरहेको छ । यसको अर्थ यो हो कि नगदरहित अर्थव्यवस्थाको आधारभूत ढाँचा तयार भइसकेको छ ।'' 

हालसालै मात्र  सूचना सचिवको रुपमा नियुक्त अरुणा सुन्दरराजनले केन्याको उदाहरण दिंदै भने-''केन्यामा अपेक्षाकृत कम बैंक छन् । त्यहाँ उद्योगधन्दाको समेत धेरै ठूलो वृद्धि छैन । तर पनि त्यहाँ ५० देखि ६० प्रतिशत बित्तीय कारोबार मोवाइल फोनको प्रयोगमार्फत हुने गर्छ ।'' 

संचार कम्पनी तथा बैंकहरुले डिजिटल बैकिंगमा भरपर्दो सहकार्य गरेलगत्तै नगदरहित कारोबारले तीव्रता पाउने उनको दाबी छ ।