काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ अबको ३ वर्षमा प्रतिऔंस ४ हजार अमेरिकी डलरभन्दा धेरै पुग्ने अनुमान गरिएको छ।

नेपाली सुन बजार पनि अन्तर्राष्ट्रिय बजारमा उतारचढावबाट प्रत्यक्ष प्रभावित हुन्छ। त्यस कारण यदि अबको ३ वर्षमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको भाउ ४ हजार डलर पुगेमा नेपाली बजारमा पनि प्रतितोला सुनको भाउ १ लाख ९७ हजार ५०० रुपैयाँभन्दा बढी पुग्न सक्छ।

२.४३ तोलाबराबर १ औँस हुन्छ। 

उता विश्लेषकहरुले भने कोरोनाविरुद्धको भ्याक्सिन विकास र नोभेम्बर महिनामा हुने अमेरिकी निर्वाचनले बहुमूल्य पहेँलो धातुको भविष्य बदल्न सक्ने बताएका छन्। यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले सन् २०११ को पुरानो रेकर्ड तोड्दै नयाँ उचाइ हासिल गरेको छ। 

महामारीका कारण लगानीकर्ताले ‘सेभ हेभन’ का रुपमा सुनमा लगानी बर्साइरहेका छन्। गत साता पहिलोपल्ट सुनको भाउ प्रतिऔंस २ हजार डलरभन्दा माथि पुगेको थियो। 

अमेरिकाको लगानी कम्पनी यूएस ग्लोबल इन्भेस्टर्सका सीईओ फ्र्यांक होल्मस अबको तीन वर्षमा सुनको भाउ प्रतिऔंस सजिलै ४ हजार डलरभन्दा माथि पुग्ने बताउँन्। उनका अनुसार कोरोना महामारीको प्रभावबाट अमेरिकी अर्थतन्त्रलाई पुनरुत्थान गर्न खर्बौं डलर आवश्यक रहेको छ र यसका साथै जी–२० का देशका अर्थमन्त्री र केन्द्रीय बैंकहरु कार्टेल जसरी एकसाथ काम गरिरहेका छन् र उनीहरु सबै खर्बौं डलर नोट छापिरहेका छन्। ‘हामीले केन्द्रीय बैंकहरुले यसरी शून्य ब्याज दरमा यत्रो मात्रामा नोट छापेका देखेका थिएनौँ। शून्य ब्याजदरमा सुन एकदमै आर्कषक एसेट क्लास बन्ने गर्दछ’, उनले भने। 

कोरोना महामारीका कारण विश्वका प्रमुख देशहरुले आफ्नो मौद्रिक नीतिलाई खुकुलो पारेका छन्। खुकुलो मौद्रिक नीति हुनु भनेको लगानीकर्ता सुनमा बढी आकर्षित हुनु हो। जब वास्तविक उत्पादन घट्छ तब सुनको मूल्य बढ्ने गर्दछ। 

त्यस्तै वास्तविक उत्पादन बढ्दा सुनको मूल्य घट्ने गर्दछ। यस्तो अवस्थामा सुन (अनुत्पादक सम्पत्ति) होल्ड गर्दा ‘अपरचुनिटी कस्ट’ कम हुने गर्दछ। 

अमेरिकाको बीएओ वेल्थ म्यानेजमेन्टमा प्रमुख लगानी रणनीतिकारका रुपमा कार्यरत युङ यु मा सुनको मूल्यलाई बढावा दिइरहेका धेरै तत्वहरु रहेको बताउँछन्। उनले दुईवटा प्रमुख घटनाले सुनको मूल्यको दिशा परिवर्तन गर्ने औँल्याएका छन्। उनी भन्छन्, ‘हामी सावधानीपूर्वक यी तत्वहरुलाई नियालिरहेका छौँ। अझ विशेषगरी दुई प्रमुख घटनाका दौरान। पहिलो कोरोनाविरुद्धको भ्याक्सिन विकास र अर्काे अमेरिकी निर्वाचन। यी दुवै घटनामध्ये विशेषगरी भ्याक्सिनको विकासको घटनाक्रमले अहिले सुनको मूल्यलाई बढावा दिइरहेको तत्वहरुलाई सिफ्ट गर्न सक्ने सम्भावना रहेको छ।’

यसका साथै उनी अमेरिकी राष्ट्रपति निर्वाचनले कसरी गति लिन्छ त्यहीअनुरुप सुनको मूल्यले प्रतिक्रिया जनाउने बताउँछन्। 

न्युयोर्कमा आधारित एक अनुसन्धानका प्रदायक थर्ड ब्रिज गुप्रका अनुसार अमेरिकी निर्वाचनपश्चात सुनको मूल्य प्रतिऔँस १६०० डलरमा झर्न सक्छ। तथापि वित्तीय डेटा प्रदान गर्ने रिफिन्टिफले गत साता अमेरिकी राजनीतिक विकासक्रमले वित्तीय बजारलाई प्रभाव पार्न सक्ने र सुनको मूल्यलाई बढावा दिन सक्ने जनाएको थियो। 

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलरी क्ल्निटनलाई पराजित गर्दै अप्रत्यासित जित हासिल गरेपछि लगानीकर्ताले सुनमा पैसा खनाएपछि सुनको मूल्यमा ५ प्रतिशतको वृद्धि देखिएको थियो। – एजेन्सी