काठमाण्डौ । मिटर जडान गरेर पनि मिटरमा कुदाउन नमान्ने ट्याक्सीको रुट निलम्बन हुने भएको छ । 

यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । 

मिटरजडित ट्याक्सीहरुले मिटर भाडामा जान नमान्ने अटेर गर्ने पाइएमा त्यस्ता सार्वजनिक सवारी साधनलाई कानून बमोजिम जरीवाना गर्नुको साथै रुट निलम्बन समेत गरिनेछ । विभागको सूचनामा भनिएको छ । 

विभागले काठमाण्डौ उपत्यका लगायत स्थानीय रुटहरुमा संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनहरुलाई सिट क्षमता भन्दा २५ प्रतिशतसम्म बढी यात्रुलाई उभ्याएर यात्रा गराउन पाउने व्यवस्था गरेको छ । सिट क्षमताको २५ प्रतिशत भन्दा बढी यात्रुलाई उभ्याएर यात्रा गराएको पाइएमा त्यस्ता सवारी साधनको समेत रुट इजाजत नै निलम्बन गरिने विभागको प्रष्टोक्ति छ । 

छोटो, मध्यम तथा लामो दूरीमा चल्ने यात्रुबाहक सार्वजनकि सवारी साधनहरुमा सिट क्षमता भन्दा बाहिर कुनै पनि यात्रुहरुलाई टिकट काटेर वा नकाटेर यात्रा संचालन गर्न विभागले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । सिट क्षमता भन्दा बढी यात्रु चढाउने छोटो, मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनलाई पनि जरीवानादेखि रुट नै निलम्बनसम्मको कारबाही हुने समेत चेतावनी दिइएको छ ।