काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुले अबदेखि दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको छ । 

राष्ट्रबैंकका विभिन्न विभाग, कार्यालय, महाशाखा तथा इकाईमा कार्यरत कर्मचारीहरुले आफूसँग भेट भएका सेवाग्राहीको सम्पर्क नम्बर र मिति नोट गरी दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको हो।

यस्तै, कोभिड १९ संक्रमण देखिएका जिल्लाहरुबाट फर्किआउने कर्मचारीहरुले १४ दिने क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने समेत केन्द्रीय बैंकले व्यवस्था गरेको छ । सो अवधिका लागि बिना भत्ता काज प्रदान गर्ने व्यवस्था मिलाइने मार्गदर्शनमा उल्लेख छ । 

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले कोभिड–१९ को महामारी फैलिन थालेपछि आफ्ना कर्मचारीहरुमा संक्रमण हुन नदिन ‘बैंकको सेवा संचालन मार्गदर्शन २०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण, हालको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कार्यालय प्रवेश द्वारमा रहेको रजिष्टरमा अनिवार्य उल्लेख गर्नुपर्ने राष्ट्रबैंकको मार्गदर्शनमा उल्लेख छ । 

राष्ट्रबैंकले जनशक्ति व्यवस्थापन, बैंकिग सेवा तथा अत्यावश्यक कार्य संचालन, कार्यालय एवम् स्वास्थ्य सुरक्षा र वर्क फ्रम होमको सम्बन्धमा ४२ बुँदे सर्कुलर आफ्ना कर्मचारीहरुका लागि जारी गरेको हो । 

कर्मचारीमा हुनसक्ने कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि कामको प्रकृति बमोजिम घरमै बसी कार्य सम्पादन गर्न सकिने गरी वर्क फ्रम होमको व्यवस्थालाई निरन्तरता दिन समेत भनिएको छ । 

बैंक परिसरबाटै प्रदान गर्नुपर्ने बैंकिंग सेवाका लागि भने सम्बन्धित विभाग कार्यालयबाट सकेसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा(बढीमा एकतिहाईबाट) आवश्यक सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । 

आलोपालो आधारमा कर्मचारीहरुलाई कार्यमा खटाउन र सो कार्यका लागि कम्तीमा ६ दिनको रोटेसन बनाएर कर्मचारीलाई उपस्थित गराउन समेत भनिएको छ । 

राष्ट्रबैंकका विभाग, कार्यालय, महाशाखा तथा इकाईहरुको कार्यस्थलमा कर्मचारीबीच न्यूनतम भौतिक दूरी समेत कायम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्दी बक्सा नै बुझी केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था मिलाउन समेत भनिएको छ । त्यसरी दाखिला प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य रुपमा स्प्रे गर्नुपर्ने समेत बताइएको छ। 

कुनै विभाग तथा इकाईले बैठक बोलाउनुपरे बैंठक कक्षको झ्याल खुल्लै राख्नुपर्ने, भेन्टिलेटर खुल्ला राख्नुपर्ने, कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, बैठकमा सहभागी स्वस्थ रहेको यकिन गर्नुपर्ने समेत व्यवस्था भएको छ । 

बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समूह(सर्भिलेन्स ग्रुप)का कर्मचारीहरुलाई संभव भएसम्म पीपीईको व्यवस्था गर्नुपर्ने र सो व्यवस्था नहुँदासम्म अनिवार्य रुपमा एन नाइन्टी फाइभ मास्क तथा ह्याण्ड ग्लोब्सको व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

४२ बुँदे मार्गदर्शन यस्तो छ: