काठमाण्डौ । इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यही कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इन्डोयुरोलोजिष्टहरूको ३७ औँ विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका छन् । 

नेपाली युरोलोजिष्ट (मूत्र प्रणाली रोग विशेषज्ञ÷शल्यचिकत्सक) हरूमध्ये उक्त विधाको विश्व सम्मेलनमा आमन्त्रित भई स्रोतव्यक्तिका रुपमा कार्यपत्र प्रस्तुत गर्ने नेपाली चिकित्सा इतिहासमै पहिलो बन्न सफल बरिष्ठ मूत्र प्रणाली रोग विशेषज्ञ डा. सञ्जय खड्गी हुन् । डा. खड्गी मूत्र प्रणाली रोग उपचारमा उत्कष्ट प्रविधि मिनी पिसिएनएलमा तालिमप्राप्त भई उक्त प्रविधिमा विशेष विशेषज्ञता राख्ने पहिलो नेपाली इण्डोयुरोलोजिष्ट पनि हुन् ।

सम्मेलन सानो प्वाल पारेर वा थोरै चिरफार गरेर दूरविनका माध्यमबाट गरिने मूत्रप्रणालीको पत्थरीको उपचारमा समर्पित विश्वभरका मूत्रप्रणाली रोग विशेषज्ञ (इण्डोयुरोजोजिष्ट) हरुको प्रमुख भेला हो । जसले त्यससम्बन्धी वर्तमान हस्तीहरुलाई एकत्रित पार्दै रोगको उपचारमा भए÷गरिएका नवीनतम प्रयोग एवम् प्रविधिबारे सूचना आदान–प्रदान गर्ने, अनुभव साटासाट गर्ने र भविष्यको कार्यदिशा तय गर्ने गर्दछ । 

सम्मेलनमा मूलतः इण्डोयुरोलोजिक, ल्यापारोस्कोपिक, रोबोटिक (रोबोटको सहायताले गरिने शल्यक्रिया) र उपचारमा विकसित अन्य नवीनतम् प्रविधिलगायत उपचारमा अपनाइने चिकित्सा व्यवस्थापनबारे बृहत् छलफल गरिएको थियो । मूत्रप्रणालीका पत्थरीलगायत त्यससम्बन्धी अन्य रोगको उपचारमा संलग्न नेपालका मूत्रप्रणाली रोग विशेषज्ञहरुमध्येका एक प्रमुख विशेषज्ञ डा. खड्गीलाई नेपालमा मिनी पिसीएनएल प्रविधिका माध्यमबाट उनले हालसम्म गर्दै आएका मूत्र प्रणालीको पत्थरी रोगको सफलतम् उपचारबारे इण्डोयुरोलोजिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई जानकारी गराउन आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा निम्त्याइएको थियो । मूत्रप्रणाली रोग विशेषज्ञहरुमध्ये उनलाई यो सम्मान नेपाली चिकित्सा इतिहासमै पहिलोपटक प्राप्त भएको हो । 

सम्मेलनमा विश्वभर कार्यरत मूत्ररोग विशेषज्ञहरु, रेजिडेण्टहरु ९च्भकष्मभलतक०, विशेषज्ञता हासिल गर्दै गरेका चिकित्सकहरू र रोग उपचार÷व्यवस्थापन एवम् तिनको अनुसन्धानमा संलग्न अन्य चिकित्साकर्मीसहित एक हजारभन्दा बढी सहभागी थिए । सम्मेलनमा इण्डोयुरोलोजी विधामा विकसित उच्च प्रविधि र तरिका आपसमा बाँड्न विश्वभरबाट विशेषज्ञहरु निम्त्याउने गरिन्छ । 

मिनी पिसिएनएल के हो ? 

मिनी पिसिएनएल मिर्गौला र मूत्रप्रणालीको असामान्य ठूलो र जटिल पत्थरीको उपचारका लागि वरदानसिद्ध तथा एक उत्कृष्ट प्रविधि हो । यो तुलनात्मक रुपमा सुरक्षित, भरपर्दो, विना ठूलो चिरफार उपचार गर्न सकिने (अर्थात दागरहित) प्रविधि हो । यसको प्रयोगबाट बिरामीमा रगतको क्षति अत्यन्तै न्यून हुने, दुखाई कम हुने, घाउ चाँडै निको हुने, प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको हस्पिटल बसाई पनि निकै कम हुने हुँदा यो प्रविधि विश्वसनीय रहँदै आएको छ।