काठमाण्डौ । टेबल, कुर्सीजस्ता साना फर्निचरहरु हामी काठकै मन पराउँछौँ। यस्ता फर्निचर बनाउन थुप्रै मेहनत गर्नुपर्छ । पहिले रुख काट्नुपर्यो । त्यसपछि त्यसलाई चिरान गर्नुपर्यो । अनि बल्ल कर्मीहरुले आफ्नो कला प्रस्तुत गर्दै त्यसलाई ग्राहकको अर्डरअनुसार फर्निचरको रुप दिन्छन् ।

यस्ता फर्निचर किन्दा निकै महँगो हुन्छन्। अर्कोतर्फ मेहनत पनि धेरै पर्छ । बेलायतका एक दम्पतीले भने यस्ता फर्निचर उमार्न थालेका छन् भन्दा अचम्म लाग्न सक्ला । तर वास्तविकता यही हो ।

गेबिन र एलिस मुनरो नाम गरेका ती दम्पतीले फर्निचरको आकारमा बोटबिरुवा उमार्न थालेका हुन् । उनीहरुले अहिलेसम्म २५० वटा कुर्सी, १०० स्ट्यान्ड ल्याम्प र ५० वटा टेबल उमारिसकेका छन् । गेबिन भन्छन्, ‘यसरी फर्निचरको आकार दिएर बोटबिरुवा उमार्दा कमभन्दा कम बोटबिरुवा काट्नुपर्ने हुन्छ, जसले वातावरण र पर्यावरण संरक्षणमा पनि सघाउ पुग्छ ।’

कुनै ४०–५० वर्ष पुरानो रुख काटेर त्यसलाई टुक्राटुक्रा पारेर फर्निचर बनाउनुभन्दा यसरी सुरुदेखि नै हुर्किंदो बोट–बिरुवालाई फर्निचरका आकार दिएर उमार्दा उत्तम हुने गेबिन बताउँछन् ।

गेबिनका अनुसार यी फर्निचर थ्रीडी प्रिटिङजस्ता हुन्छन् । जसलाई अलगअलग आकार दिइन्छ । उनी सम्झन्छन्, ‘मैले मेरो घरआँगनमा एउटा सानो बिरुवा लगाएँ, त्यो पछि निकै ठूलो भयो तर कुर्सीजस्तो आकारमा । अनि मेरो दिमागमा यसरी पनि फर्निचर उमार्न सकिन्छ भन्ने जुक्ति आयो ।’

गेबिनका अनुसार यसरी फर्निचर उमार्ने कामको सुरुमा सन् २००६ मा गरिएको थियो । उनले आफ्नै घरमा पहिलोपटक दुईवटा कुर्सी उमारेका थिए । त्यसपछि सन् २०१२ मा उनले एलिससँग विवाह गरे र दुवै मिलेर एउटा कम्पनीको सुरुआत गरे । त्यही कम्पनीको नामबाट उनीहरुले ठूलो जमिन लिएर विभिन्न प्रजातिका बोटबिरुवा लगाएर कुर्सी, टेबल र ल्याम्प स्ट्यान्डजस्तो आकार दिएर उमार्न थाले । अनि निश्चित आकारमा पुगेपछि बेच्न थाले ।

यो दम्पतीको यसरी फर्निचर उमार्ने काम निकै सफल भएको छ । ‘यस्ता फर्निचर उमार्न निकै समय लाग्छ’, गेबिन भन्छन्, ‘बोटबिरुवा लगाउनुपर्यो, गोडमेल गर्नुपर्यो अनि तिनलाई फर्निचरको आकारमा ढाल्नुपर्यो ।’

अहिले गेबिनले तयार पारेको एउटा कुर्सी १२ लाख रुपैयाँसम्म बिक्री हुन्छ । त्यस्तै ल्याम्प स्ट्यान्ड १ लाख २० हजार र टेबल १६ लाख रुपैयाँसम्म बिक्री हुन्छ । ग्राहकले पनि गेबिनले तयार पारेको यस्ता फर्निचर निकै मन पराउन थालेका छन् ।

गेबिनका अनुसार यस्ता फर्निचर तयार पार्न कम्तीमा पनि ९ महिनासम्म लाग्छ ।

हुन यो नयाँ काम भने होइन । प्राचीन समयमा यसरी नै बोटबिरुवालाई फर्निचरको आकार दिएर उमारिने गरिन्थ्यो । तर वर्तमान परिवेशमा बोटबिरुवाको विनाश न्यूनीकरणका लागि यो तरिका निकै फलदायी हुन सक्ने वातावरणविद्हरु बताउँछन् । – एजेन्सी