काठमाण्डौ । वाग्मती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचयपत्रको शुरुआत गरिने भएको छ ।  यसको लागि अभिलेख सूचना प्रविधिमा प्रविष्ट गरी सार्वजनिकीकरण गरिने जनाइएको छ ।  प्रदेशमा कृषिलाई प्रोत्साहन गर्नका  प्रदेश सरकारले नीति तथा कार्यक्रममा यस्तो प्रावधान ल्याएको हो ।
  
सो कार्यक्रममा कृषि कार्यमा बीउबिजनको अभाव हुन नदिन बीउबिजन बैंकको स्थापना गरिने उल्लेख गरिएको छ । कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिइने भनिएको छ ।

त्यसैगरी रोजगार सिर्जना गर्नका लागि विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरी बेरोजगार रहेका युवालाई कृषि पेशामा आबद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार, आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी गरिने जनाइएको छ । हाल स्थानीय तहहरुले पनि कृषि क्षेत्रलाई प्राथमितामा राखेर प्रोत्साहनका लागि विभिन्न प्रविधिका साथै प्रोत्साहित कार्यक्रमहरु ल्याएको जनाइएको छ ।