काठमाण्डौ । गोबर शब्दको प्रयोग प्राय बर्बादीसँग जोडेर गर्ने गरिन्छ । तर, अब गाईवस्तुको गोबर निकै राम्रो कमाईको स्रोत बन्न संभव भएको छ । भारत सरकारले गाईको गोबरबाट कागज बनाउने सफल प्रयोग गरेको छ । त्यहाँको सरकारी कम्पनीहरुले गाईको गोबरबाट कागज समेत उत्पादन गर्न थालिसकेका खबरमा जनाइएको छ । 

भारत सरकारले गोबरबाट कागज बनाउन संभव भएपछि यसको प्लान्ट देशभर लगाउने योजना बनाएको समेत सार्वजनिक भएको छ । कागज बनाउनका लागि गोबरका साथमा कागजका टुक्रा समेत प्रयोग गरिन्छ ।

अधिकारीहरुले गोबरबाट कागज बनाउन लायक ७ प्रतिशत सामाग्री मात्र निस्किने गरेको छ । बाँकी ९३ प्रतिशतबाट सागसब्जीमा हाल्न लायक प्रांगारिक मल बनाउन सकिने बताइएको छ । यस्तो मल पर्यावरणका लागि राम्रो समेत मानिन्छ । अहिले यस्तो मल बिक्री समेत हुन थालिसकेको छ ।

भारतले गाईको गोबरबाट कागज बनाउने र उभ्रिएको पदार्थबाट प्रांगारिक मल बनाउने स्किमलाई किसानको आम्दानी दोब्बर बनाउने योजनाका साथ कार्यान्वयनमा ल्याउन थालेका समाचारमा उल्लेख गरिएको छ । 

भारत सरकारले गोबरबाट कागज र प्रांगारिक मल बनाउनका लागि किसानबाट प्रतिकेजी ५ भारुमा गाईको गोबर खरीदको अफर समेत सार्वजनिक गरेको छ । एउटा गाईले एकदिनमा ८ देखि १० केजीसम्म गोबर दिने गर्दछ । यसरी भारतका किसानहरुले एउटा गाईबाट दैनिक ५० भारु अतिरिक्त आम्दानी गर्ने अवस्था सरकारले सिर्जना गरिदिएको छ ।

समाचारमा जनाइए अनुसार गोबरबाट कागज बनाउने प्लान्ट लगाउने कार्यमा कम्तीमा नेपाली ३० लाख रुपैयाँ खर्च लाग्नेछ । एउटा प्लान्टबाट एक महिनामा कागजका १ लाख झोला बनाउन सकिनेछ । योसँगै प्रांगारिक मल समेत बनाउन सकिन्छ । 

भारतमा भएको यो सफल प्रयोगको बिषयमा नेपाल सरकार र सरोकारवालाले चासो दिए यहाँका किसानको समेत आम्दानी बढाउन सकिन्छ भने देशभरका गाईवस्तुको खेर गइरहेको गोबर आत्मनिर्भरताको राम्रो माध्यम बन्न सक्छ ।