काठमाण्डौ । केपी ओली प्रधानमन्त्री भएको बेला हावाबाट बिजुली उत्पादनको कुरा गर्दा सबैले उनलाई उडाए । तर, यो प्रविधि विश्वका लागि चाहि निकै पुरानो भइसकेको छ । भारतमा हावाबाट बिजुली निकाल्ने निकै सस्तो प्रविधिको विकास गरिएको छ । यो प्रविधि निकट भविष्यमै नेपालमा समेत भित्रिँदैछ र अब प्रत्येक घरमा सस्तो प्रविधि राखेर हावाबाटै बिजुली निकाल्ने सपना पूरा हुनेछ । 

यसले निरन्तर बढिरहेको बिजुलीको मूल्य तथा बढेरै आउने बिलका कारण तनावमा पर्नुपर्ने अवस्था समेत हटेर जानेछ । हावाबाट बिजुली निकाल्ने यो प्रविधिमा सोलार सिस्टममा जस्तो कुनै दिक्दारी समेत हुँदैन । सोलार सिस्टमले घाम नलागेको अवस्थामा राम्रो काम गर्दैन, तर हावाबाट बिजुली निकाल्ने प्रविधिमा यो समस्या समेत हुँदैन । भारतीय संचारमाध्यमहरुका अनुसार हावाबाट बिजुली निकाल्ने प्रविधि यति धेरै आधुनिक भइसकेको छ कि यसले तपाईको घरको बिजुलीसँग जोडिएको सबै आवश्यकता आरामले पूरा गरिदिनेछ । 

यसबाट २४ घण्टै बिजुली लगातार प्राप्त हुन्छ । एकपटक सिस्टम जडान गरेपछि यसले २० देखि २५ वर्षसम्म आरामले काम गर्नेछ । यदि बिजुलीको बिल औसतमा १२ रुपैयाँ मान्ने हो भने प्रत्येक वर्ष २ लाख रुपैयाँ भन्दा बढी मूल्यको बिजुली यो सिस्टमबाट तपाईले पाउनसक्नुुहुन्छ, त्यो पनि बिनापैसा । 

भारतको सिको इञ्जिनियरिङ सर्भिसेजले यस्तै प्रविधिको विकास गरेको छ । आउनुहोस् हेरौं यो प्रविधिलाई अझ नजिकबाट:

घरमा लगाउनुहोस् विण्ड टर्बाइन


सिको इञ्जिनियरिङ सर्भिसेजले घरमा लगाउन मिल्ने ‘विण्ड टर्बाइन सिस्टम’ तयार गरेको छ । यो सिस्टमलाई एकपटक लगाएपछि २० देखि २५ वर्षसम्म आरामले बिजुली उत्पादन भइरहन्छ । कम्पनीको बिजिनेश डेभलपमेन्ट अफिसर अंकिता नारेलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार यदि तपाईले २ किलोवाटको विण्ड टर्बाइन सिस्टम घरमा जडान गर्न चाहनुुहुन्छ भने त्यसको कुल खर्च २ लाख भारु आउँछ । यसबाट लगातार २४ घण्टा नै २ किलोवाट बिजुली उत्पादन हुन्छ । यो सिस्टम नेपालमा ल्याउन सकिए ५ लाखको हाराहारीमा प्राप्त हुनेछ । २५ वर्षसम्म बिजुलीको बिल तिर्न नपर्ने र घरका सबै आवश्यकता पूरा गरिदिने भएपछि यो ठूलो खर्च होइन । 

२ किलोवाट बिजुलीबाट के के चल्छ ?
विण्ड टर्बाइन सिस्टमले लगातार २ किलोवाट बिजुली उत्पादन गर्छ । यसकारण घरको कुन उपकरणले कति बिजुली खपत गर्छ यो कुरा जान्न आवश्यक हुन्छ । जस्तो, आम रुपमा १.५ टन वजनको एसीले करिब १५०० वाट बिजुली खर्च गर्छ । यसको अर्थ यदि यस्तो एसी चलाइरहनुुभएको छ भने यो बेला आइरन नचलाउनुहोस् । किनभने यसले ७५० वाट बिजुली खर्च गरिदिन्छ । यी दुवैको लोड एकसाथ मिलाउँदा २ हजारवाट भन्दा बढी हुन आउँछ । 

यसरी हेर्दा एसी र अन्य उपकरण नचलाउने हो भने २ किलोवाट बिजुली ओखाईपोखाई हुन्छ । जस्तो एउटा सिएफएलले १५ वाट, ट्यूूबलाइटले ४० वाट, फ्रिजले १५० वाट, कुलरले २०० वाट, एउटा पंखाले ७५ वाट, वासिङ मसिनले ४०० वाट, टेलिभिजनले १०० वाट, मिक्स्चरले ५०० वाट, कम्प्युटरले २०० वाट बिजुली खर्च गर्छ । नेपालको सामान्य शहरी क्षेत्रको परिवारलाई २ किलोवाट(२ हजार वाट) बिजुलीले न्यूनतम बिजुलीसँग जोडिएका सबै काम गर्न मज्जाले पुुग्छ । 

प्रत्येक वर्ष २ लाखको बिजुली बचत


यो विण्ड टर्बाइन सिस्टमबाट प्रत्येक दिन ४८ युनिट बिजुली प्राप्त हुन्छ । यो हिसाबले एक महिनामा १४४० युनिट तथा वर्षभरमा १७२८० युनिट बिजुली घरमै उत्पादन हुन्छ । १२ रुपैयाँ प्रति युनिटको दरले हिसाब गर्दा यो २ लाख रुपैयाँ भन्दा बढी हुन जान्छ । यसको अर्थ टर्बाइन सिस्टम खरीद गरेको लगानी २ वर्षमै उठ्छ । त्यसपछि २३ वर्षसम्म यो सिस्टमलाई आरामले निःशुल्क उपयोग गर्न सकिन्छ । 

विण्ड टर्बाइन सिस्टमको विशेषता
यसको डिजाइन निकै सहज र सरल छ । यो सिस्टमलाई घरको कुनै पनि ठाउँमा लगाउन सकिन्छ । यतिसम्म कि घरको छतमै पनि लगाउन सकिन्छ । यदि हावा थोरै मात्र चलेको छ भने पनि यसले बिजुली उत्पादन गरिरहन्छ । यसलाई जहाँ लगाउन समेत निकै सजिलो हुन्छ ।