भरतपुर । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ ।

वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् । सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ ।

“समाजवादको आधारशिला भनेको सामूहिक खेती हो”, उहाँले भन्नुभयो, “सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन ।” माडीमा शुरु गरिएको सामूहिक खेती अन्यका लागि पनि उदाहरणीय रहेको जनाइएको छ । 

नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख ढकालले विशेषगरी सामूहिक उत्पादनलाई जोड दिएको बताउनुभयो ।

सूर्योदय सहकारीले सामूहिक खेती कृषक कल्याण कोषमा शुरुआतमा सस्थाले रु दुई लाख तथा नगरपालिकाले रु एकलाख जम्मा गर्न लागेको छ । कोषको रकमबाट आएको ब्याजले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथि उमेरका अशक्त किसानलाई वार्षिक रु एक हजारका दरले रकम उपलब्ध गराउने सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले जानकारी दिनुभयो ।

संस्थाका प्रबन्धक गायकले रु २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले रु १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले रु १० हजार कोषमा जम्मा गर्नेसमेत घोषणा गर्नुभएको छ ।

कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ । किसानले एक बाली खेती भित्र्याइसकेका छन् ।