काठमाण्डौ । अब खाना खराब छ वा छैन भनेर सुँघ्नुपर्ने दिनको अन्त्य भएको छ । यो जाँच अब स्मार्ट फोनको प्रयोग गरी एउटा विशेष प्रकारको सेन्सर पेपरबाट सजिलै गर्न सकिन्छ ।

सेन्सर पेपर वातावरणमैत्री (इको फ्रेन्डली) हुनुका साथै सस्तो पनि छ। यसको मद्दतले प्याकेज्ड फुड आइटमलाई बर्बाद हुनबाट जोगाउन सकिन्छ ।

लन्डनको इम्पिरियल कलेजका विद्यार्थीद्वारा तयार पारिएको यो सेन्सर पेपरले खानालाई खराब गर्ने अमोनिया र ट्राइमिथायलामाइनबारे पत्ता लगाएर प्याकेज्ड भोजनको गुणस्तरका बारेमा पनि जानकारी गराउनेछ । यो सेन्सरलाई ‘पेपरमा आधारित इलेक्ट्रिकल ग्यास सेन्सर’ (पीईजीएस) नाम दिइएको छ ।

यो सेन्सर पेपरको मूल्य दुई सेटको केबल साढे २ रुपैयाँ पर्छ । यो सेन्सर पेपरको डाटालाई स्मार्ट फोनका माध्यमबाट पढ्न सकिन्छ । त्यसका लागि केबल तपाइँले आफ्नो स्मार्ट फोन त्यो सेन्सर पेपरमाथि ल्याउनुपर्ने हुन्छ । त्यसपछि थाहा हुनेछ कि तपाइँले खान लागेको भोजन खान लायक छ वा छैन ।

शोधकर्ताले कार्बन इलेक्ट्रोडलाई सेलुलोज पेपरमा प्रिन्ट गरेर यसलाई तयार पारेका हुन् । यो पूर्ण रुपमा वातावरणमैत्री र विषादीमुक्त रहेको छ । त्यसैले यसलाई खानाको प्याकेटमाथि लगाउँदा पनि सुरक्षित रहन्छ ।

प्रयोगाशालामा जब यो सेन्सरको प्रयोग गरियो तब यसले खानालाई खराब गर्ने ग्यासलाई निकै तीव्रताका साथ पहिचान ग¥यो । यो सेन्सर पेपर बजारमा पाइने अन्य सेन्सरको तुलनामा अधिक भरपर्दो रहनुका साथै निकै किफायती मूल्यमा पाइन्छ । एसीएस सेन्सर्स जर्नलमा प्रकाशित शोधमा रिसर्चर्सका अनुसार यो सेन्सर पेपर आएपछि प्याकेटको खानामा प्रयोग गरिने एक्सपायर्ड डेटको ठाउँमा यो लगाउन सकिन्छ । यो निकै विश्वसनीय र भरपर्दो छ । यो प्रयोग गर्दा खाना पनि सस्तो दरमा पाउन सकिने शोधकर्ताहरु बताउँछन् ।

यो सेन्सर पेपरको हेड शोधकर्ता डा फिरात गुडेरका अनुसार यो एउटामात्र यस्तो सेन्सर हो, जुन व्यावसायिकस्तरमा सजिलै प्रयोग गर्न सक्निछ । यो निकै सस्तो र भरपर्दो भएकै कारण खाद्यवस्तुको गुणस्तर ट्यागका रुपमा प्रयोग गर्दा पनि ती खाद्यवस्तुको बजारमूल्यमा खासै फरक नपर्ने उनको दाबी छ । –एजेन्सी