काठमाण्डौ । तपाईलाई कडा ज्वरो आइरहेको छ ? रुघाखोकीले लगातार सताइरहेको छ ? घाँटीको दुखाई पनि निरन्तर छ ? यी सबै स्वास्थ्य समस्यासँग जुँधिरहँदा आफूलाई कोरोना संक्रमण भएको आशंका पो गरिरहनु भएको छ कि ? यदि त्यसो हो भने तपाईले सामान्य अवस्थामा आफूलाई कोरोना भए या नभएको कुरा अनलाइनबाटै थाहा पाउनु हुनेछ । 

स्वास्थ्य मन्त्रालयले डिजिटल माध्यमबाटै आफूलाई कोरोना भए या नभएको थाहा पाउने फिचरसहितको मोवाइल एप्लीकेसन(एप) आइतबार लञ्च गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाम्रो स्वास्थ्य नामको एप लञ्च भएको जानकारी दिंदै यसमा धेरै उपयोगी फिचरहरु समावेश गरिएको दाबी गरे । 'एपबाटै विवरणहरु लिने, एपमा जोडिएर आफ्ना समस्या राख्न सकिने सुविधा समेत छ ।' उनले भने-'बिरामी स्वयम्ले आफूमा देखिएको लक्षण राखेर स्वमूल्यांकन गर्नसक्ने व्यवस्था समेत गरिएको छ । यो एपबाटै कोरोना छ कि छैन थाहा पाइने फिचर छ । भर्चुअल माध्यमबाटै कोरोना संक्रमण थाहा हुने भएकोले सामान्य अवस्थाका बिरामीले यसैका लागि अस्पताल गइरहनु पर्दैन ।'

यो एपमा क्वारेन्टाइनहरुको लोकसेन, अस्पतालको लोकेसन, नजिककैको अस्पतालको पहिचान तथा ती अस्पतालका सेवाहरुको डिटेल समेत राखिएको छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसाइट कोभिड१९ एमओएचपी डट जीओभी डट एनपीबाट यो एप डाउनलोड गर्न सकिनेछ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एप लञ्च गर्दै कोरोनाविरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रुपमा सही जानकारी र सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिए ।