काठमाण्डौ । धान काटेपछि बाँकी रहेको पराल कतिपय ठाउँमा समस्याको रुपमा देखापर्छ । परालको खपत नहुने ठाउँहरुमा धान काटेर बाँकी रहेको पराल वा गहुँ काटेर बाँकी रहेको अंशलाई जलाउने गरेको पाइन्छ । यसले वातावरण समेत दूषित बनाउने गर्छ । यही कारण कतिपय ठाउँमा पराल र प्रदूषण एक अर्काको परिपूरक जस्तो बन्ने गरेका छन् । कतिपय ठाउँका किसानको बाध्यताले समेत यस्तो काम भइरहेको छ । तर, भारतका खोजकर्ताहरुले यो समस्याको समाधान निकालेका छन् । 

अब पराल तथा गहुँ काटेर बाँकी रहेको अंशलाई प्रयोग गरेर बिजुली निकाल्न सकिने भएको छ । 

नेशनल थर्मल पावर कर्पोरेसन(एनटिपीसी)ले परालबाट बिजुलीको उत्पादन सुरु गरेको हो । गाजियावादस्थित एनटिपीसीको एक युनिटमा परालबाट बिजुली उत्पादन थालिएको हो । 

समाचारमा जनाइएअनुसार धानको पराल तथा अन्य कृषिजन्य अवशेषबाटबाट पेलेट बनाएर त्यसबाट बिजुली उत्पादन हुने गरेको छ । 

पराल तथा अन्य कृषि अवशेषहरुको कम आपूर्ति भएका कारण ठूलो परिमाणमा भने बिजुली निकाल्न नसकिएको समाचारमा उल्लेख छ । 

तर, भविष्यमा भारतमा पराल तथा कृषि अवेशषहरुको आपूर्ति बढ्ने र योसँगै ठूलो परिमाणमा बिजुली उत्पादन समेत बढ्ने विश्वास समाचारमा व्यक्त गरिएको छ । 

एनटिपीसीको भारतभर फैलिएका २१ ताप बिजुली घरमा पराल तथा अन्य कृषिजन्य सामाग्रीबाट पेलेट बनाई त्यसबाट बिजुली उत्पादनको योजना छ । यी सबै पावर प्लान्ट्सको खपत क्षमता वार्षिक १९४०० टन रहेको छ । 

यो समय भारतमा प्रत्येक वर्ष १५४ मिलियन टन कृषि अवशेष पैदा हुन्छ । यदि यी सबैको प्रयोग गर्ने हो भने त्यसबाट ३० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ । यसबाट करिब एकलाख करोड भारु बराबरको बजार खडा हुनसक्छ ।

पेलेट्सको आपूर्तिका लागि एनटिपीसीले भारत लगायत छिमेकी देशका एजेन्टहरुलाई समेत आह्वान गरेको छ । नेपालबाट समेत त्यस्ता पेलेट लग्न सकिने समाचारमा जनाइएको छ । 

त्यसो त भारतमा निकै लामो समयदेखि किसानहरुकै अग्रसरतामा पराल र त्यस्तै कृषि अवशेषबाट बिजुली बनाउने काम भइरहेको समाचारमा दाबी गरिएको छ । 

पञ्जाबको अबोहरदेखि २५ किलोमिटर टाढा रहेको गद्धाडोब गाउँमा एक उद्योगले करिब ५ हजार किसानबाट पराल किनेर बिजुली बनाउने काम गरिरहेको छ । यो उद्योगले ५ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ । 

यहाँबाट प्रत्येक वर्ष ६ करोड युनिट बिजुली उत्पादन गर्ने गरिन्छ र भारतको बिजुली बोर्डलाई ६.३० भारु प्रतियुनिटको दरले यहाँबाट उत्पादित बिजुली बेच्ने गरिएको छ ।