'काठमाण्डौ । निषेधाज्ञा र कोभिड १९ महामारीका बीच खुलेको धितोपत्र बजारमा दिनानुदिन नेप्से इण्डेक्स र कारोबार रकम निरन्तर उकालो लागेको छ । सेयरबजार प्रविधिमैत्री बन्दै जाँदा अब लगानीकर्ताहरुले ब्रोकर कार्यालय नै नधाई संसारका जुनसुकै कुनाबाट सहज रुपमा सेयर खरिदबिक्री गर्न पाइरहेको अवस्था छ ।

सेयर बजारका पछिल्ला परिदृष्य र अवस्थाका बारेमा बिजशालाले विगत २ दशकभन्दा धेरै समयदेखि सेयर बजारलाई नै पेशा बनाइरहेका नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालसँग कुराकानी गरेको छ ।

सेयर बजारलाई पछिल्लो समय कसरी नियालिरहनु भएको छ ?
मैले अहिलेको विषम परिस्थितिका बाबजुद सेयर लगानीको अवसरका रुपमा लिएको छु । ३-४ वर्षदेखि अधिक ब्याज तिरिरहेका हामी लगानीकर्ता अहिले ब्याजको मामलामा केही सुविधाजनक अवस्थामा छौ । नेप्से परिसूचक १०९८ को तल्लो विन्दूलाई समेत पार लगाउँदै हाल सकारात्मक दिशातर्फ मोडिएको अनुभव गरिरहेको छु । अनलाइन कारोबारका कारण समेत पछिल्ला दिनहरुमा लगानीकर्ताहरुले ब्रोकर कार्यालय नगई सहज रुपमा सेयर किनबेच गरिरहेका छन् । अब हामीले घरबाटै अनलाइन युजर र पासवर्ड लिनसक्ने र स्वनिर्णयका आधारमा सेयर किनबेच गर्न सकेका कारणले सेयर बजारले ठूलो फड्को मारेको छ । सेयर बजारको भविष्य सुनौलो छ ।

निषेधाज्ञा र महामारीकाबीच पनि धितोपत्रले सकारात्मक लय समातिरहेको छ, के कारणले होला?
बजारले तल्लो विन्दू(१०९८)लाई परीक्षण गरिसकेको अवस्था छ । कोभिडका कारण हाल लगानीका अन्य क्षेत्र पनि नभइरहेको अवस्थामा विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारीलगायत घरमा नै थुनिएर बसिरहेका छन् । अनि अहिले घरबाटै सेयर किनबेच पनि सम्भव हुनुले सबै क्षेत्रका मानिसहरुको उपस्थिति बजारमा हुन थालेको देखिन्छ जसका कारण बजारले सकारात्मक लय समातेको हो । अर्को कुरा ब्याज हिजोका दिनमा १२-१३ प्रतिशतसम्म थियो, तर हाल ७-८ प्रतिशतमा सीमित हुँदा ५ प्रतिशत हाराहारी बचत भइरहेकाले लगानीकर्तालाई धेरै हौसला प्राप्त भइरहेको छ । 

उसो त बैंकमा बचतमा राख्दा हाल २ वा ३ प्रतिशत ब्याज पाइन्छ, तिनै बैंकका बचतहरुसमेत हाल सेयर बजारमा न्यूनतम ५-७ प्रतिशत रिटर्न पाइने ग्यारेन्टी भएकाले समेत बजारको कारोबार रकम दिनानुदिन बढिरहेको हो । 

यस्तै बजार सकारात्मक दिशामा जानमा प्रविधिमैत्री अवस्था पनि हो । हिजोका दिनमा नयाँ कम्पनीका आइपीओ सूचीकरण हुन ६ महिना समय लाग्दथ्यो, तर अहिले आइपीओ निष्कासनको न्यूनतम एक हप्तादेखि दुई हप्ताभित्र प्रविधिकै कारणले दोस्रो बजारमा सेयर कारोबार भइरहेको छ । यसबाट लगानीकर्तालाई समेत सहज त भएको छ नै लगानीको वातावरणसमेत सिर्जना भएको छ । 

पहिले ७ दिनमा सेयर बेचेपछि पैसा पाइन्थ्यो भने अहिले चौथो दिनमै बैंक खातामा सीधै पैसा आउँछ । यसबाट हामीले बजार थप परिपक्व बन्दै गइरहेको भन्ने बुझ्न जरुरी छ । यसले गर्दा लगानीकर्ताको आत्मविश्वासमा अभिवृद्धि हुनुका साथै विद्यार्थी, गृहिणी लगायतको प्रवेश समेत ह्वात्तै बढिरहेको छ । स्थानीय(आयोजना प्रभावित)लाई १० प्रतिशत सेयर आरक्षणको नीतिले सेयरबजार दुर्गम क्षेत्रमा समेत बढेको छ । यतिमात्र हैन प्रविधिकै सहायताले बैंक खातामा नगद लाभांश र डिम्याट खातामा बोनस सेयर जम्मा हुने व्यवस्थाले बजारको दायरा र क्षेत्र फराकिलो बन्दैछ । 

यसैगरी अहिले बिदेशमा रहेका नेपालीले पनि अनलाइन प्रणालीमार्फत सेयर कारोबार गर्न संभव भएकोले अब पूँजीबजार बलियो बन्दै गइरहेको छ । 
 
गत चैतमा सेयर बजार घट्छ भन्ने स्वार्थका कारण करिब १०० दिन बजार बन्द हुनुपर्ने माग राख्दै नियामक निकायहरुमा तपाईँलगायत अन्य लगानीकर्ता संघसंगठनका नेताहरु जानुभयो । तर अहिले कोरोना संक्रमितको संख्या बढिरहेको र निषेधाज्ञा पनि जारी रहेका बेला बजार त बढ्यो नि ?
तत्कालीन बेला सेयर बजार घट्छ भन्ने हाम्रो मानसिकता र त्रासले नै बजार बन्द गर्नुपर्ने माग राखेर नियामक निकाय गएको कुरालाई म स्वीकार गर्छु । विश्वमै कोरानाका कारण मृतकको संख्या बढिरहेको र युरोप अमेरिका हुँदै भारतमा संक्रमण बढ्न थालेपछि हामी आत्तिएकोमा दुईमत नै छैन । कोरानाकै कारण नेप्से परिसूचक १६६८ बाट १२५० सम्म झर्यो । त्यतिबेला कमजोर मनोबलले नै बजार झरेको हो भन्ने हाम्रो ठम्याइ छ । 

बजार महामारीले घट्छ र अनलाइन समेत पूर्ण अनलाइन नभएको र ब्रोकर कार्यालय धाउनै पर्ने अवस्था थियो, सोही कारण बजार हामीले बन्द गर्ने अडान छाडेनौं । तर अहिले घरबाटै पूर्ण अनलाइनको मज्जा लिएका छौं । भुक्तानीसमेत विद्युतीय माध्यमबाट अनिवार्य भएसँगै हाल मनोविज्ञान परिवर्तन भएको छ । अनुशासित जीवनयापनले कोभिड लाग्दैन र लागेमा पनि मरिदैँन भन्ने चेत आइसकेको छ । कोरोनाप्रतिको त्रास पनि कम हुँदै गइरहेको छ भने अहिले सोही आत्मबलका र प्रविधिका कारण घरबाटै सेयर किनबेच हुने व्यवस्थाले बजारलाई सकारात्मक प्रभाव पारेको हो ।

अब बजार कस्तो रहला ?
अब बजारले उकालो यात्रा नै गर्ने निश्चित छ । बजार तल्लो विन्दूमा आइसकेको, विषम अवस्थामा पनि ५ देखि ७ प्रतिशत रिटर्न हुनु, सहज रुपमा बैंकबाट सेयरधितोकर्जा प्रवाह हुनु, सस्तो ब्याजदर इत्यादि कारणले बजारले सकारात्मक लय नै समात्ने हो ।

कोरोना कहरका कारण कम्पनीहरुले समेत ४ महिना खराब प्रदर्शन गरेतापनि ७-८ महिनामा राम्रो गरेका छन् । कम्पनीका वित्तीय प्रतिवेदनलाई अध्ययन गर्दा अब लगानीकर्ताले यस्तो अवस्थामा ७-८ प्रतिशत रिटर्न न्यूनतम पाउने बलियो आधार देखिन्छ । अब बजारले दिगो रुपमा फड्को मार्छ । निषेधाज्ञा हटेपछि त झन् आफ्नो पैसाको स्रोत खोज्ने र अन्य क्षेत्रको पैसा आउनसक्ने सम्भावनालाई हेर्दा अब दैनिक कारोबार रकम ७ अर्ब रुपैयाँ नोमिनल हुनेछ ।

सेयर बजार प्रविधिमैत्री बन्दै गइरहेको वर्तमान सन्दर्भमा बजारले चाहिँ कस्तो रेस्पोन्स गर्ला ?
हिजो हामी साँच्चै ढुँगे युगमा नै थियौं । ब्रोकर कार्यालय जानुपर्ने र ब्रोकरलाई कन्याएर सेयर किनबेच गर्नुपर्ने बाध्यता थियो । हिजोका दिनमा भएका कतिपय व्यवस्थाका कारण सेयर बजार निकै झञ्झटिलो विषय थियो । लाभांश सहज रुपमा प्राप्त गर्नु, घरबाटै ढुक्कले सेयर किनबेच गर्न सम्भव भएपछि बजारले छलाङ मारेको अवस्था छ । अझ भन्नुपर्दा प्रविधि हातैमा आएकाले जहाँबाट पनि सम्भव भएकाले अब बजारले ऐतिहासिक छलाङ मार्नेछ ।

अब बजारको दिशा चाहिँ कता हो नि ?
बजार तल झर्ने त कुरै छैन । अब बजार माथि नै जाला । बीचमा केही उत्तारचढाव रहे पनि अब नेप्से परिसूचकले नयाँ रेकर्ड कन्फर्म बनाउँछ ।

आम लगानीकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
म आम लगानीकर्तालाई कोरोनासँग जुध्न घरमै बसौं र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दछु । सेयर बजार हामी लगानीकर्ताको हातमा आइसकेकाले मोबाइल र ल्यापटपबाटै घरमा ढुक्कसँगले बसेर सेयर किनबेच गर्न सुझाउँछु । विशेषगरी नयाँ लगानीकर्तालाई प्राथमिक बजार हुँदै ज्ञान लिएर मात्रै दोस्रो बजारमा छिर्न सुझाव दिन चाहन्छु । कम्पनीका विस्तृत सूचना र जानकारी प्राप्त गर्न अध्ययन गर्नुपर्छ । लहैलहैमा सेयर लगानी नगर्नुहोस् । सेयर बजार समुन्द्र हो । जति पनि कमाउन सक्नुहुन्छ तर ज्ञान लिएर योजना बनाउनु भयो भने मात्र सेयर बजारबाट कमाइ हुन्छ नत्र डुबिन्छ । 

निकै सोचविचार गर्दै आजभोलि नै रिटर्नको लोभमा नफसी कम्तीमा १-२ वर्षको दीर्घकालीन लगानीको सोच बनाउन सुझाउँछु । पोर्टफोलियोको ३० देखि ४० प्रतिशतसम्म सेयर ऋण लिई कारोबार गर्नुुस् नत्र जोखिम अत्याधिक हुन्छ । सेयर बजारमा अरुले कमाएको देखेर सबै सम्पत्ति बेचेर लगानी गरेमा डुबिने सम्भावना अधिक हुन्छ । 

धैर्यता सेयर बजारका लागि अनिवार्य शर्त हो, अनि क्षमता अनुसार गरिएको सेयर लगानीले पछाडि फर्केर हेर्नुपर्ने छैन । सेयर बजारमा अज्ञानताकै कारण डुबिने हो, त्यसैले सेयर बजार जानकार साथीभाई छरछिमेक, ब्रोकर, विज्ञ, सेयर बजारसँग सम्बन्धित बिजशालाजस्ता अनलाइन मिडिया, कम्पनीका वित्तीय विवरणलगायत धेरै विषयवस्तुमा आफूलाई अपडेट र अपग्रेड गर्दै लगेमा सेयरबजारबाटै अथाह कमाउन सकिन्छ । विश्वका धनाढ्य व्यक्तिहरु सेयर बजारबाटै मालामाल भएका उदाहरण हामीसामु छर्लङ्ग छ । गृहिणीहरुले जागिर नै नगरी घरमै बसेर स्वरोजगारका रुपमा सेयर बजारमा मनग्यै कमाउन सकिने भएकाले उहाँहरुलाई पनि सेयर बजारमा निम्तो दिन चाहन्छु ।