काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले अब खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गरी डिजिटल सुविधाहरु प्रयोग गर्न पाउनेछन्।  

यससम्बन्धी सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र खल्तीका निर्देशक अमित अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकका ग्राहकले आफ्नो बैंक खाता लिंक गरेर बैंकको डिजिटल सेवाहरु मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न सक्नेछन्। साथै ग्राहकले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरु प्रयोग गर्न पाउनेछन्। 

यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदि) का साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

बैंकले आफ्नो मूल नारा ‘हजुरको जीवन सहज बनाउँदै’ बमोजिम विभिन्न समयमा सेवा तथा सुविधालाई ग्राहकमाझ ल्याउँदा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै आइरहेको छ। यस बैंकबाट प्रवाह गरिँदै आइरहेका सेवा तथा सुविधामा व्यावसायिक फाइदाहरुभन्दा ग्राहकको जीवन सहजतालाई केन्द्रविन्दुमा राखिएको छ र भविष्यमा पनि यस्ता ग्राहक केन्द्रित सेवाहरु प्राथमिकतामा रहनेसमेत विश्वास बैंकले लिएको छ। 

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। खल्तीका प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छ। 

खल्ती एप गुगल प्लेस्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ।