काठमाण्डौ । बैंकहरुको एटीएम ह्याक गरी पैसा चोरी गर्ने घटना बढेसँगै नेपाल राष्ट्रबैंकले त्यस्ता एटीएमहरुमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले  असोज ९ गते भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई सर्कुलर जारी गर्दै नयाँ व्यवस्थाको विषयमा जानकारी गराएको हो । 

बैंक तथा वित्तीय संस्थाहरुबाट संचालित सबै एटीएम बुथहरुमा २४ सै घण्टा अनिवार्य रुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथहरुको विशेष निगरानी गर्नुपर्ने निर्देशन दिइएको छ । 

साथै, त्यस्ता एटीएम बुथहरुमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी वा निकायमा सूचित गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

यस्तै, राष्टबैंकले भुक्तानी  प्रणाली परीक्षण(सिस्टम अडिट) गरी त्यसबाट प्राप्त कैफियत तथा कमजोरीको विषयमा यथाशीघ्र सुधार गरी भुक्तानी प्रणाली विभागमा जानकारी गराउन समेत निर्देशन दिएको छ । 

यस्तै, हरेक बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन र सो सम्बन्धमा विभागमा जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

यस्तै, संस्थाको आइटी प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा सो सम्बन्धमा केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा तुरुन्त जानकारी गराउनुपर्ने व्यवस्था समेत गरिएको छ । 

राष्ट्रबैंकले आइटीलाई मजबुत बनाउने गरी दिएको नयाँ निर्देशनबाट बैंक तथा वित्तीय संस्थाहरुको खर्च समेत ह्वात्तै बढ्ने देखिन्छ ।