काठमाण्डौ । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्र रूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । 

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

एपमा जनपद प्रहरी रहेको नजिकको स्थानसमेत राखिएको हुँदा पर्यटकलाई थप सहज हुनेछ । पर्यटकलाई सुरक्षा र जानकारी दिन एपले सहयोग पुग्ने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेत बताउनुहुन्छ । “एप सञ्चालनसँगै पर्यटकलाई खोजी गर्नसमेत सहज हुन्छ”, उहाँ भन्नुहुन्छ । 

यस्तै, काठमाडौँ उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा पर्यटकलाई सूचना दिन र पर्ने समस्या समाधान गर्न ठमेलमा महानगरीय सूचना केन्द्रको स्थापना गर्न लागिएको छ । भ्रमण वर्षलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी भृकुटीमण्डपको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ मा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । 

पर्यटक प्रहरीले यसै वर्ष पर्यटकको बढ्दो आगमनलाई मध्यनजर गर्दै काठमाडौँको बौद्ध, तनहुँको बन्दिपुर र चितवनको पटिहानीमा अस्थायी पर्यटक प्रहरी कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।