काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अबदेखि आफू कुनै पनि सरकारी नियुक्तिमा नजाने र सरकारी जागिर समेत नखाने घोषणा गरेका छन् । 

बिजशालासँग विशेष कुराकानी गर्दै उनले आफू बाँकी रहेको जिन्दगी फ्रीलान्सरको रुपमा जिउन चाहेको र सकेसम्म सक्रिय भइराख्ने बताएका हुन् ।

‘म ६० वर्ष पुगिसकेँ । अब धितोपत्र बोर्डबाट रिटायर्ड भएपछि कुनै पनि सरकारी नियुक्ति खाँन्न ।’ उनले भने–‘बरु बोर्ड आउनुअघिजस्तै फ्रीलान्सर लेखक र विश्लेषक बन्छु ।’ बोर्डमा अध्यक्षको रुपमा उनको कार्यकाल सकिन अब मुश्किलले ९ महिना मात्र बाँकी छ ।

उनले धितोपत्र बोर्ड आफ्नो जीवनको अन्तिम सरकारी जागिरको अड्डा भएको उल्लेख गर्दै यहाँबाट रिटायर्ड भएपछि पुस्तक लेखनमा ध्यान दिने, विभिन्न पत्रपत्रिका तथा मिडियाहरुमा नियमित लेख तथा विश्लेषणहरु लेख्ने र आफूलाई बौद्धिक क्षेत्रमै सक्रिय बनाइराख्ने घोषणा समेत गरे । 

‘सरकारी नियुक्तिको पदमा त म जाँदै जाँन्न ।’ उनले भने–‘जीवनको एउटा यात्रा सिद्धियो, अब अर्को सुरु हुन्छ । रिटायर्ड भएपछि मान्छेहरु अब म सिद्धिएँ भन्ने ठान्छन्, तर म त्यस्तो ठान्दिँन । म अन्तिम सास रहुञ्जेलसम्म आर्थिक रुपमा समेत सक्रिय भइराख्नेछु ।’

कार्कीसँग हामीले निकै लामो कुराकानी गरेका थियौं । सो क्रममा उनले धितोपत्र बोर्डमा आएपछि आफूले गरेका कामहरुको बिस्कुन मात्र लगाएनन्, नेप्सेको बहुचर्चित अनलाइन प्रणाली, लगानीकर्ता संघसंगठनका नेताहरुको कार्यशैली, हाल गिरावटको मारमा परेको दोश्रो बजार लगायतको विषयमा समेत आफ्ना धारणा प्रस्तुत गर्न भ्याए ।

अनलाइनप्रति असन्तुष्टि
उनले नेप्सेको अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आएकोमा असन्तुष्टि व्यक्त गरे । ‘लगानीकर्ताले दुःख पाएकै कारण मैले आइटीसहित फ्रस्ट क्लास अफिसरको नेतृत्वमा अध्ययन समिति बनाएको हो ।’ उनले थपे–‘हामीले नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर ल्याउनु भनेकै थियौं । सफ्टवेयर खरीदका लागि स्वीकृति हामीले दिएको होइन र त्यो निकाय हामी होइन पनि । त्यस विषयमा हामी विज्ञ पनि होइन ।’ 

सरकारी नियम र खरीद ऐनअनुसार नै नेप्सेले सफ्टवेयर खरीद गरेको हुनसक्ने उल्लेख गर्दै उनले सिधैं मन्त्रालय अन्तरगत रहने कुरामा नियामक भएर पनि आफूहरुले केही गर्न नसक्ने प्रष्ट्याए । 

आफूहरुले अनलाइन कारोबार प्रणाली चुस्त होस् र यसको अधिकतम उपयोग गर्दै सबै लगानीकर्ताले सहज ढंगले अनलाइन कारोबार गरुन् भन्ने चाहेका उल्लेख गर्दै अध्यक्ष कार्कीले भने–‘यस्ता विषयमा हामीले सुझाव मात्र दिने हो । बाँकी कुरा मन्त्रालयले नै हेर्छ ।’

कार्कीको नजरमा बजार र लगानीकर्ता
कुराकानीको क्रममा अहिलेको घट्दो बजारको विषयमा समेत कार्की हामीसँग गफिन भ्याए ।

‘हामीले राम्रो पूँजीबजार क्रिएट गर्ने हो, सुविधा दिने हो । बजारमा गएर तपाई किन्नुहोस् वा ऊ गर्नुहोस भन्दैनौ हामी ।’ उनले भने–‘पूँजीबजार अर्थतन्त्रको ऐना हो । राजनीतिक र आर्थिक स्थायीत्वका लागि अथाह सम्पत्ति चाहिन्छ र यो सम्पत्ति(स्रोत) परिचालन हुने असीमित ठाउँ हो पूँजीबजार । परम्परागत स्रोतको रुपमा रहेको बैंकिङबाट मात्र स्रोतको अधिक माग सम्बोधन हुनसक्दैन ।’ 

पूँजीबजारको कुनै सीमा नहुने उल्लेख गर्दै उनले अथाह सम्पत्ति(स्रोत) परिचालन पूँजीबजारबाट मात्र संभव हुने जिकिर गरे । 

बजार निरन्तर सुस्ताएको निश्कर्षमा रहेका अध्यक्ष डा. कार्कीले लगानीकर्तालाई सम्झाउँदै भने–‘तर, बजार सधैं बढ्दैन । घटबढ भइरहन्छ, यो नै पूँजीबजारको सुन्दरता हो ।’

बजार घटबढमा सेयरको माग र आपूर्तिले पनि केही न केही प्रभाव पार्ने उल्लेख गर्दै उनले नागरिक लगानीकोषलाई मार्केट मेकरको रुपमा बजारमा प्रवेश गराउने तयारी भइरहेको खुलाए । ‘सीआइटीले सहायक कम्पनीमार्फत दोश्रो बजारमा प्रवेश गर्नेछ ।’ उनले भने–‘तर सीआइटी प्रवेश गरेपछि बजारमा नाटकीय सुधार हुन्छ भनेर सोचियो भने त्यो गलत हुनेछ । सीआइटी मार्केट मेकरको रुपमा आएपछि बजारलाई धेरै असन्तुलित हुन चाहि दिने छैन ।’ 

उनले नियामकको हिसाबले धितोपत्र बोर्डले बजारका लागि राम्रो पूर्वाधार बनाइदिएको र यो अभियान जारी रहेको उल्लेख गर्दै लगानीकर्ताले कुन कम्पनीमा लगानी गर्ने वा नगर्ने भन्ने अधिकार उनीहरुलाई नै भएको प्रष्ट्याए ।

तर, लगानीकर्ता र तिनका संगठनका कतिपय अपरिपक्व व्यवहारबाट भने उनी रुष्ट देखिए । ‘यहाँ त दुलाहा दुलहीको खेलजस्तो, अझ भनौं केटाकेटी खेलेजस्तो गरिन्छ ।’ घुमाउरो ढंगले उनले भने–‘राम्रो दुलाहा वा दुलही पाए भाग्यले पाएको भन्ने, नराम्रो पाए लमीले बिगारिदियो भन्ने । हाम्रो बजारको हाल समेत यस्तै छ । बजार बढ्यो, कमायो भने आफूले गर्दा कमाएँ भन्छन्, किनेको सेयर बिग्रियो, बजार घटिरह्यो भने धितोपत्र बोर्डले हस्तक्षेप गरिदिनुपर्यो भन्दै कराउँछन् । हामीले यत्रो सुविधा दिएको चाहि कसैले देख्दैन । हाम्रो नीति तथा कार्यक्रममा समेटिसकेको विषय समेत लिएर लगानीकर्ता आउँछन । कम्तीमा नीति तथा कार्यक्रम त पढ्न पर्यो नि ।’ 

बजार फेरि १८०० को विन्दूमा पुर्याइदिने अनुरोधसहित लगानीकर्ता आउने गरेका दाबी गर्दै उनले भने–‘बजारलाई कति विन्दूमा पुर्याउने भन्ने काम हाम्रो होइन, त्यो त लगानीकर्ताले गर्ने काम हो । हामीले सुधारको काम गर्ने हो, हस्तक्षेप गर्ने होइन । बजार आफ्नै गतिमा हिँडिरहन्छ, हिँड्न दिनुपर्छ।’ 

विकसित देशमा समेत हल्लाका कारण लगानीकर्ताको लगानी निर्णय प्रभावित हुने गरेको उदाहरण दिंदै नेपाल समेत यो प्रवृतिबाट ग्रसित रहेको उनले सुनाए ।

डा. कार्कीले गरेका सुधार
अध्यक्ष डा. कार्कीले बजार सुधारका लागि आफ्नो नेतृत्वमा भएका प्रयासप्रति आफू सन्तुष्ट रहेको बताए । ‘म सतप्रतिशत सफल नभएको हुँला, तर धेरै गरेको छु ।’ उनले भने–‘बाँकी रहेको कार्यकालमा बोर्डको क्षमता अभिवृद्धि गर्नुछ । सुधार  र विकासका धेरै काम गर्नुछ ।’ 

उनले हामीलाई आफ्नो नेतृत्वमा भएका सुधारका फेहरिस्त समेत प्रस्तुत गरे । उनले उपलब्ध गराएको सुधारको विस्तृत फेहरिस्तलाई हामीले सम्पादनसहित बुँदागत रुपमा प्रस्तुत गरेका छौ:

प्राथमिक बजारमा भएका सुधार तथा विकास
१.प्राथमिक निश्कासनमा डिम्याट खाता अनिवार्य र खाता संख्या निर्धारण
२.आस्वा प्रणाली लागू
३.वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने धितोपत्र दर्ता तथा निश्कासन नियमावली–२०७३ जारी
४.पूँजी बजारमा संरचनात्मक सुधार गर्न धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ लागू
५.मर्चेन्ट बैंकिङमा सुधार
६.हकप्रद तथा बोनस सेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था
७.थप निश्कासन(एफपीओ)को मूल्य निर्धारण मापदण्ड बनाई लागू गरिएको
८.प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निश्कासन सम्बन्धमा नयाँ व्यवस्था

धितोपत्रको दोश्रो बजारमा भएका सुधार तथा विकास
१.धितोपत्रको दोश्रो बजार पूर्ण स्वचालित
२.धितोपत्र दलाल व्यवसायी सम्बन्धमा सुधार
३.दलाल व्यवसायी सेवा शुल्कमा कटौति
४.धितोपत्र दलाल व्यवसायीको पूँजी तथा पूर्वाधार सम्बन्धमा व्यवस्था
५.बडापत्र र ट्रेडिङ विण्डोको व्यवस्था तथा अध्ययन भ्रमण
६.धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यको व्यवस्थामा सुधार
७.क्लियरिङ बैंक थप गर्ने व्यवस्था
८.बजारको गहिराई हेर्ने व्यवस्था
९. नागरिक लगानीकोषलाई संस्थागत लगानीकर्ताको रुपमा सहभागी गराउने
१०. गैरआवासीय नेपालीलाई पूँजीबजारमा प्रवेश गर्न सहजीकरण
११.दोश्रो बजारको कारोबार समय परिवर्तन तथा अडलटको कारोबार सुरु
१२.नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न नीतिगत निर्णय
१३.सूचना प्रवाह व्यवस्थामा सुधार
१४.सेमी अनलाइन कारोबार प्रणालीको सुरुवात

अन्य सुधारहरु
१.धितोपत्र नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था IOSCO को एशोसिएसट सदस्यता प्राप्ति
२. सिडिएस एण्ड क्लियरिङ लिमीटेडले अशोसिएसन अफ नेशनल नम्बरिंग एजेन्सिजको ९२ औं सदस्यता प्राप्त
३.बोर्ड कर्मचारी र सदस्यमा आचारसंहिता लागू
४.रजत जयन्ती कार्यक्रम
५.सपुरीवेक्षण म्यानुअल लागू
६.गुनासो सुन्ने व्यवस्था
७.ओटिसी बजार संचालन तथा शुल्क कटौति
८.वस्तु विनिमय बजारको नियमन बोर्डबाट
९.बोर्ड तथा एनआरएनए पदाधिकारीबीच छलफल
१०. सम्पत्ति शुद्धिकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारबाी
११.धितोपत्र बजार नियमन तथा कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम
१२. बोर्डको संस्थागत क्षमता अभिवृद्धिमा तीव्रता
१३.मार्जिन लेण्डिङ सुरुवातका लागि सहजीकरण
१४.वैकल्पिक लगानीकोषको स्थापनाका लागि पहल