काठमाण्डौ । ब्लडप्रेसर (बीपी) कति छ ? अब बीपी लेभल जाँच्न तपाइँलाई चिकित्सकमा धाउनुपर्ने दिन अन्त्य भएको छ ।

क्यानडाको टोरन्टो युनिभर्सिटीका एक शोधकर्ताले मोबाइल फोनको क्यामेराबाटै बीपी लेभल जाँच्ने नयाँ तरिका विकसित गरेका छन् । उनका अनुसार चीन र क्यानडाका १ हजार ३२८ जनामा यो परीक्षण गर्दा ९६ प्रतिशतसम्म सटिक जानकारीका साथ तीन थरिका बीपी मापन गर्ने सफलता मिलेको छ ।

टोरन्टो युनिभर्सिटीका शोधकर्ता पल झेंगले ट्रान्सडर्मल अप्टिलक इमेजिङ प्रविधिको विकास गरेका हुन् । यो प्रविविधको मद्दतले अनुहारको छालाबाट बीपीको लेभल पत्ता लगाइन्छ । भिडियो सेल्फको मद्दतबाट करिब दुई मिनेटमा यो कार्य पूरा हुने शोधकर्ता पल बताउँछन् ।

भिडियो बनाउने क्रममा मोबाइल क्यामरामा जडित अप्टिकल सेन्सरबाट रातो किरणले अनुहारको छालामा पर्ने र त्यसले दुई मिनेटभित्रै शरीरमा हेमोग्लोबिनको मात्रा पत्ता लगाउने पलको दाबी छ। ट्रान्सडर्मल अप्टिलक इमेजिङ प्रविधिबाट परावर्तित किरणको मद्दतबाट शरीरमा रगतको दबाबबारे पनि जानकारी दिन्छ । शोधकर्ता पलले यो प्रविधिबाट ९६ प्रतिशत सही नतिजा निस्कने दाबी गरे । – एजेन्सी