काठमाण्डौ । घर बनाउँंदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यता नहुने भएको छ । जग हालेर पिलर र बिम ढलान गरिसकेपछि स्ल्याब ढलान गर्न नपर्ने गरी प्रिकाष्ट स्ल्याब (कारखानामा पहिला नै बनाएर तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो । 

यसको प्रयोगबाट तीब्र निर्माण संभव हुनेछ । पिलर, बिम बनाएपछि स्ल्याब ढलान गर्नुको साटो कारखानामा पहिला नै बनाएर राखिएको प्रिकास्ट स्ल्याब राख्ने भएकाले तीब्र निर्माण सम्भव भएको हो । ढलान गर्दा फर्मा राख्न, डण्डी बाध्न अनि ढलान सकेपछि पनि फर्मा जडानमै राखेर तीन–चार हप्ता काम बन्द गरेर कुरिरहनुपर्ने बाध्यता यसमा हुँंदैन ।  

स्टकचरल इञ्जिनियर सुदीप कारञ्जितका अनुसार यसको प्रयोग आवासीय घर, कार्यक्रम हल, फ्याक्ट्री, इटाभटालगायतमा सजिलै गर्न सकिन्छ । निर्माण सम्पन्न भए पछि विगार्न पर्दा पनि पुनः प्रयोग गर्न मिल्ने यसको विशेष विशेषता हो । फयाक्ट्री सार्नुपर्दा पुनः प्रयोग गर्न मिल्ने हुनाले यसको लोकप्रियता बढदै गएको छ ।

यसको प्रयोगको लागि विम, पिलर मात्रै बनाउनु पर्छ । यसपछि फ्लोरको रुपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गगरे पुग्छ । क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ । 

यो १५ फिटसम्म लम्बाईको पाइन्छन् । पिलरको चौडाई बढी पारे पनि हुने भई यसको प्रयोगले खर्चमा किफायती हुन्छ । अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको चौडाई साधारणतया १५ फिट लम्वाईसम्म जाँंदैन । १०/१२ फिटको कम दुरीमै राख्नुपर्छ । तर विज्ञका अनुसार सपोर्ट सिष्टम मिलाउन सके प्रिकाष्ट २० फिट चौडाईसम्मको पिलरको फरकमा राख्दा पनि फरक पर्दैन । 

इन्जिनियरहरुका अनुसार यो परम्परागत ढलान भन्दा बढी बलियो हुन्छ । यसले परम्परागत स्ल्याब ढलानले भन्दा बढी तौल थेग्न सक्छ । चामल लगायतका बढी भार पर्ने सामाग्री पनि यसले सजिलै थाम्न सक्छ । यसको गुणस्तरमा कुनै शंका नै नहुने विज्ञ बताउँंछन् । किनकि यो पहिला नै कारखानामा टेष्ट गरेर बनाएको हुन्छ । गुणस्तरमा कुनै सम्झौता गरिंदैन ।  

परम्परागत ढलान भन्दा वढी हलुका हुनु यसको एउटा विशेष विशेषता हो । इञ्जिनियरहरुका अनुसार परम्परागत ढलान २४ सयदेखि २५ सय प्रति घनमिटरको घनत्व हुने हुन्छ भने यो १५ देखि १६ सय प्रति घनमिटर मात्रै हुन्छ । यसको बीचमा प्वाल हुने भएकोले बढी हलुका हुने भएको हो ।

प्वाल भएकै कारण यसमा तापक्रम प्रसार नहुने हुन्छ । यसका कारण तातो हुन पाउँंदैन । यही कारण इटाभटाको डग (इटाभटाको माथि) मा पनि यसको प्रयोग गर्न सकिन्छ । साथै प्वालकै कारण यसमा प्लम्विग, कन्सिल्ट वायरिङ गर्न सजिलो हुने हुन्छ । 

स्टकचरल इञ्जिनियरले वर्षौदेखि स्टील स्टकचरको डिजाइन गर्दा फलोरको समस्या भइरहेको थियो । तर यो समस्या प्रिकाष्ट स्ल्याबकै कारण समाधान भएको बताउँंछन् इन्जिनियर । 

विगत दुई दशकदेखि स्टिल स्टकचर डिजाइन गर्दै आएका इञ्जिनियर सरोज शाक्यले विदेशमा वर्षादेखि यो टेक्नोलोजीको प्रयोग भए पनि नेपालमा भर्खरै सुरु भएको बताए । उनका अनुसार नगरकोटको क्लब हिमालय, वीरगञजको हिमालय बैंक, त्रिभबन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिपुरेश्वरको एनआईसी एसिया बैंक, कमलादीको लक्ष्मी बैंकमा यस प्रकारको प्रिकाष्ट स्ल्याबको प्रयोग भइसकेका छन् । 

गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेड चाँंगुनारायाण रोड भक्तपुरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालका अनुसार नेपालमा विभिन्न साइजका प्रिकाष्ट स्ल्याबको उत्पादन भइरहेका छन् । गोर्खा प्रिकाष्टले मात्रै दुई फिट चौडाई, एक सय २० एमएम (पाँच इन्च) मोटाईका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको जानकारी उनले गराए । उनका अनुसार लम्बाई भने आवश्यकता अनुसारका पाइन्छन् । १५ फिट भन्दा बढी लम्बाईका प्रिकास्ट स्वदेशमै निर्माण भएको पाइन्छन् । 

हलुका हुनुका साथै छिटो जडान, भूकम्पीय दृष्टिकोणबाट सुरक्षित हुनुलगायतका यसका विशेषता हुन् । कारखानामा पहिला नै बनाएर राखिने भएकाले स्ल्याब गरी ढलान गरे जस्तै एउटा तल्ला सकाउन एक महिना लाग्दैन । बरु दुई चार दिनमै सकिन्छ । 

साथै फ्लेक्जिवल स्टकचर भएकोले भूकम्पीय दृष्टिकोणबाट पनि यो सुरक्षित हुन्छ । साथसाथै जथाभावी ढलान भई गुणस्तरहीन हुने डर पनि यसमा हुँंदैन । किनकि कारखानामै हतारमा नभई विस्तारै टेष्ट गरेर मिलाएर मात्रै स्ल्याब ढलान गरिएको हुन्छ । 

भूकम्पले ध्वस्त संरचनाको मात्रै नभई देशको तीब्र विकासका लागि प्रिकाष्ट    (पहिला नै कारखानामा बनाएर तयार पारिएको सामान) को प्रयोग निर्विकल्प रहेको विज्ञहरु बताउँछन । ६० वर्षको बीचमा चीनले तीब्र रुपमा भौतिक पूर्वाधारको गति लिन सक्नुका मुख्य एउटै मात्रै कारण नै प्रिकाष्टको प्रयोग नै भएको जानकारहरु बताउँछन् । 

यसको निर्माण ५३ ग्रेड सिमेन्ट, सात एमएमको हाइपावर प्रिटेन्शाइल स्टील   (डण्डी), बालुवा, चिप्सको प्रयोगबाट बनाइन्छ ।