काठमाण्डौ । हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । 

हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । 

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका छन् । 

सोमबार एक औपचारिक समारोहकाबीच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालका लागि हङकङका महाबाणिज्यदूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउँदा १ हप्ताका लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागू हुने सिटी एक्सप्रेसले जनाएको छ ।