काठमाण्डौ । दक्षिण कोरियाको प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी सामसङका सीइओ वान हो ह्यूनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले विश्वकै प्रतिष्ठित र अग्रणी यो कम्पनीले अभूतपूर्व संकटको सामना गर्नु परिरहेको भन्दै राजीनामा दिएका हुन् । सेप्टेम्बर महिना पूरा भएपछि तेश्रो त्रैमासमा यो कम्पनीले सबैभन्दा धेरै नाफा कमाउने आम अपेक्षाकै बीच ह्यूनको राजीनामा आएको छ, यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले सन् २०१८ मार्चदेखि कम्पनी छाड्नेछन् । 

सामसङ पहिलादेखि नै प्रशासनिक संकटमा फसेको छ । घूस दिएको आरोपमा सामसङका उत्तराधिकारी ली जे इयाङ जेल जानुु परेको छ । कम्पनी सारा संकटसँग सामना गर्दै पूर्ण रुपमा पुनः जाग्ने र व्यापारको गति लिने कोशिशमा थियो, तर यही बेला सीइओले नै राजीनामा दिएपछि यसको भविष्य के हुने भन्ने चिन्ता थपिएको छ । 

मिडिया रिपोर्टका अनुसार सामसङले जुलाई–सेप्टेम्बर त्रैमासमा १२.८ अर्ब डलरको अनुमानित संचालन मुनाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा तीनगुणा भन्दा बढी हो । त्रैमासहरुको मुनाफाको हिसाबले हेर्ने हो भने यो कम्पनीको सर्वाधिक नाफाको रेकर्ड हो । सामसङको सेमी कण्डक्टर कारोबारमा मुनाफाको साथमा उसको बिक्री २९.६५ प्रतिशत वृद्धि भई ६२००० अर्ब वान(दक्षिण कोरियाली मुद्रा) हुनेछ । 

नयाँ सुरुवातको समय
सामसङको शानदार प्रदर्शनको बाबजुद सीइओले भनेका छन् कि कम्पनीले अभूतपूर्व संकटको सामना गरिरहेको छ । यही कारण आफूले पद छाडेको समेत उनको जिकिर छ । उनले भनेका छन्–‘भाग्यले यो समय कम्पनी सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको छ, तर यो केवल यसअघि गरिएको लगानी तथा निर्णयको प्रतिफल मात्र हो । यो समय कम्पनीका लागि नयाँ साहास तथा युवा नेतृत्वको साथ नयाँ सुरुवात गर्ने हो । ताकि, तीव्र गतिमा परिवर्तन भइरहेको आइटी उद्योगमा आउनसक्ने चुनौतिहरुको राम्रो ढंगले सामना गर्न सकियोस् ।’ 

सामसङ घूस प्रकरण तथा उसको नोट सेभेन फोनको ब्याट्री बिस्फोटबाट निम्तिएको संकटदेखि बाहिर आउने कोशिशमा छ । भ्रष्टाचार प्रकरणमा कम्पनीका उत्तराधिकारी लीले जेल जानुुपर्यो । गत अगस्टमा उनी दोषी करार भएका थिए ।