विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजस्‌ले न्याशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल अर्थात जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका छन्।

बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्‍यो भन्ने विषयमा अनुसन्धान रोक्न उनलाई दबाब दिएको छ।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले गत महिना आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको बताएका थिए।

त्यसलगत्तै न्याशनल इन्क्वाएररले ती प्रविधि कम्पनीका मालिकको विवाहभन्दा बाहिरका सम्बन्धबारे लेखहरू प्रकाशित गर्‍यो।

पछिल्लो आरोपबारे बीबीसीले सोधेको प्रश्नमाथि न्याशनल इन्क्वाएररको संस्थापक कम्पनी अमेरिकन मिडिया इन्कर्पोरेटेड्‌ (एएमआई) ले कुनै प्रतिक्रिया दिइसकेको छैन।

बेजोसले बिहीवार एक ब्लग प्रकाशित गर्दै एएमआईका वकीलहरूले पठाएका भनिएका इमेलहरू अनलाइन राखिदिएका छन्।

ती इमेलमा बेजोसले सम्बन्ध राखिरहेको भनिएकी एक महिला र उनको अन्तरङ्ग तस्बिरहरू छापिदिने चेतावनी दिइएको उल्लेख गरिएको छ।

बेजोस् विश्कै सबैभन्दा धनी व्यक्ति हुन्।

आफूहरूबीच आदानप्रदान भएका गोप्य फोटो न्याशनल इन्क्वाएररले कसरी पायो भन्नेबारेको अनुसन्धान नरोकेमा ती तस्बिरहरू सार्वजनिक गरिदिने धम्की एएमआईले दिएको बेजोसले बताएका छन्।

-बीबीसीबाट