काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामामा भएको भारि बर्षाका कारण देशकै सबैभन्दा अग्लो बाँध ओरिवल बाँध फूट्ने खतरा बढेको छ । 

बीबीसीका अनुसार खतराको आशंका बढेपछि १ लाख ३० हजार मानिसलाई आफ्नो घर खालि गरी सुरक्षित स्थानमा बस्न उर्दी गरिएको छ । 

अधिकारीहरुका अनुसार पानी भरिएपछि ओरिवल बाँध जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको छ । 

क्यालिफोर्नियामा विगत केही वर्षहरुमा खडेरी परेको थियो । तर यो वर्ष भारि वर्षा र हिउँ समेत परेको थियो । यसकारण यहाँको जलाशयको लेभल समेत बढेको छ । 

क्यालिफोर्नियाको जलसंसाधन विभागले आइतबार भनेको छ कि प्रति सेकेण्ड एकलाख क्यूबिक फिट पानी छाडिएको छ, ताकि बाँधलाई खतरा नहोस् । 

प्रशासनको तर्फबाट आएको भनाई अनुसार बाँधको जलस्तर तल गइरहेको छ । आपतकालका लागि बनेको जलाशयमा पानीको स्तर खतराको सीमा भन्दा चार इञ्चले कम भए पनि पूरा खतरा टरिसकेको छैन । 

यस्तै, बाँधको करिब १ सय किलोमिटर उत्तरमा अवस्थित ओरोविल शहरमा बसेका १६ हजार मानिसलाई समेत घर छाडेर सुरक्षित स्थानमा बस्न भनिएको छ । 

क्यालिफोर्नियाका गवर्नर जेरी ब्राउनले फेडरल इमेरजेन्सी म्यानेजमेन्ट एजेन्सीसँग तीव्र गतिमा आएको बाढीको अवस्था हेरेर यसलाई ठूलो आपद घोषणा गरी बचाउ र क्षति न्यूनिकरणको काममा लाग्न आग्रह गरेका थिए ।