काठमाण्डौ । डोनाल्ड ट्रम्पको नीति अनुसार अमेरिकाको रोजगारी बजार निकै बलियो बनेको रिपोर्ट सार्वजनिक भएको छ । 

अमेरिकामा बेरोजगारी दर २०१८ को सेप्टेम्बरमा ३.७ प्रतिशत सीमित हुन पुग्यो । सिएनएनका अनुसार यो दर भनेको सन् १९६९ देखिकै सबैभन्दा कम हो । 

गत महिना मात्र अमेरिकी अर्थतन्त्रले १ लाख ३४ हजार नयाँ रोजगारी सिर्जना गरेको रिपोर्टमा जनाइएको छ । तर, यो अपेक्षा भन्दा केही कम हो ।

राम्रो खबर चाहि यो छ कि बितेका २ महिनामा भएको रोजगारी वृद्धिको तथ्यांकलाई भने सेप्टेम्बरको तथ्यांकले उछिनेको छ । गत २ महिनामा भने ८७ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । 

ऐतिहासिक रुपमा तल झरेको बेरोजगारीको दर र योसँगै कमजोर बन्दै गएको जागिरको वृद्धिदरले रोजगारी सिर्जना गर्ने कम्पनीहरुले एकपछि अर्को गर्दै अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने हुनसक्ने संकेत गर्ने समाचारमा दाबी गरिएको छ । यो वर्षको हालसम्मको कुरा गर्ने हो भने पनि कामदार लिन खोज्ने कम्पनीहरुले नराम्रो रेकर्ड भएका र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई समेत नियुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । 

रोजगारीमा वृद्धिको दर देखिए पनि कामदारको ज्याला भने बढेको छैन । औसतमा प्रतिघण्टा आम्दानी दरमा यो वर्षभरि २.८ प्रतिशतले मात्र वृद्धि भएको छ । यो अंक मुद्रास्फितिका लागि उचित नरहेको अर्थविदहरुले दाबी गरेका छन् । किनभने विगत केही समयदेखि त्यहाँको केन्द्रीय बैंक(फेडेरल रिजर्ब)ले अर्थतन्त्रलाई बलियो बनाउने भन्दै ब्याजदर वृद्धि गरिरहेको छ ।