काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले केन्द्रीय बैंकले लामो रिसर्चपछि ल्याउन लागेको ‘बिग मर्जर’को नीतिगत व्यवस्थालाई नै दिग्भ्रमित पार्ने गरी ‘फोकटिया कुरा’ नगर्न आग्रह गरेका छन् । 

आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले केन्द्रीय बैंकलाई नै कन्फ्यूजनमा पार्ने गरी मर्जरविरुद्ध प्रस्तुत नहुन र नबोल्न आग्रह गर्दै भने–‘फोकटिया कुरा नगर्नुहोस्, सेन्ट्रल बैंकलाई कन्फ्यूजनमा नपार्नुहोस् । हामीसँग बलियो रिसर्च टिम छ, अध्ययन अनुसन्धान नभई केन्द्रीय बैंकले कुनै नीति ल्याउँदैन । हाम्रा कार्यकारी निर्देशकहरु हरेक ३ महिनामा विदेश गइरहेका हुन्छन् । विश्वमा के भइरहेको छ भन्ने कुरा उनीहरुजत्ति अरु कसलाई थाहा हुन्छ र ?’

उनले अमेरिकामा रहेका न्यून संख्याका बैंकबीच पनि अहिले मर्जरको बहस चलिरहेको उल्लेख गर्दै नेपालजस्तो सानो मुलुकमा बग्रेल्ती खुलिएका बैंक तथा वित्तीय संस्थाबीच मर्जरको अपरिहार्यता रहेको दाबी समेत गरे । 

मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा बैंकर शोभनदेव पन्त लगायतले राष्ट्रबैंकले हतारमा ‘बिग मर्जर’को नीति ल्याउन खोजेको भन्दै आलोचना गरेका थिए । अन्य केहीले समेत ‘बिग मर्जर’मा केन्द्रीय बैंकको हतारोमाथि कटाक्ष गरेका थिए । 

यिनै कटाक्षहरु गर्नेहरुलाई केन्द्रीत गर्दै गभर्नर डा. नेपालले भने–‘तपाई(बैंकर)हरु भनेका सबैभन्दा बढी पढेलेखेका व्यक्तिहरु हुन् । तपाईहरु बुझ्नुभएकै छ । तसर्थ सेन्ट्रल बैंकले अध्ययन गरेरै अगाडि बढाएको विषयलाई साथ दिनुहोस्, सहयोग गर्नुहोस् ।’

उनले कार्यक्रममा सहभागी व्यापारी व्यवसायीलाई समेत केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह गरेका थिए । 

उनले विगतमा पूँजी वृद्धिको क्रममा समेत निकै ढिलासुस्ती भएको उल्लेख गर्दै अब त्यस्तो नहुने प्रष्ट पारे । ‘२०६२ सालमै ५० करोडबाट पूँजी बढाएर २ अर्ब पुरयाउने व्यवस्था भएको हो । जबकि ०७२ सम्ममा पनि ३२ मध्ये मुश्किलले एकदर्जन बैंकले मात्र पूँजी पुर्याएका थिए, त्यो पनि मुश्किलले राइट सेयर जारी गर्दै ।’ उनले थपे । 

उनले बैंक तथा वित्तीय संस्थालाई विगतमा जस्तो पोलिसी कार्यान्वयनका लागि असीमित समय नहुने पनि प्रष्ट पारे । ‘नीति कार्यान्वयनको अनलिमीटेड टाइम नेपालमा मात्र होइन, संसारमै कहीँ हुन्न ।’ उनले थपे । 

उनले बैंकहरुको ‘बिग मर्जर’को विषय बैंकर संघले नै सरकारलाई अनुरोध गरेपछि मात्र आफूहरु तातेको खुलासा गर्दै भने–‘तपाईहरुले सरकारलाई अनुरोध गरेपछि हामी त्यसको कार्यान्वयनका लागि मात्र लागेका हौ । यहाँहरुबाट आएकै प्रपोजललाई अगाडि बढाएका हौ ।’ 

उनले पछिल्लो समय समग्र बैंकिङ उद्योगका लागि फिनटेक(फाइनान्सियल टेक्नोलोजी) चुनौतिको रुपमा देखा परेको भन्दै यसमा नेपाली बैंकहरु कमजोर रहेका टिप्पणी पनि गरे । 

‘बिग मर्जर’को नीतिको जति नै विरोध भए पनि आफू पछि नहट्ने प्रष्ट संकेत गरेका डा. नेपालले आफू नेप्सेमा हुँदा ‘बैंकमा खाता नखोली सेयरमा लगानी गर्न पाइन्न’ भन्ने व्यवस्था लागू गर्दा समेत चौतर्फी विरोध भएको उल्लेख गर्दै भने–‘त्यसबेला सबैले विरोध गरे । नेविसंघले जुलुस निकाल्यो । अखिल क्रान्तिकारी, अनेरास्ववियु सबै विरोधमा आए । तर, मैले गराइछाडेँ ।’