वासिङ्टन डिसी । मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन । 

यससम्बन्धी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन ९एमभिए०ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो । 

स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली संघ एनआरएन मेरिल्यान्ड च्याप्टरले यससम्बन्धी पहल गर्दै आएका थिए । डेमोक्र्याट पार्टीका तर्फबाट योङ डेमोक्र्याट्स अफ अमेरिकाका एचवी भण्डारीले नेपाली भाषीका लागि यो एक महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए ।

अमेरिकाको मेरिल्यान्ड नेपालीको बसोबास बढी भएको क्षेत्रमध्येमा पर्छ । केही समय अगाडि मात्रै नेपाली मूलका अमेरिकन डा.श्याम कार्कीलाई मेरिल्यान्डका गभर्नर ल्यारी होगनले दक्षिण एसियाली मामिलाको आयुक्त पदमा नियुक्त गरेका थिए । 

अमेरिकामा ड्राइभिङ लाइसेन्स लिनका लागि यससम्बन्धी ज्ञानको मापन गर्न कानुनी जाँच दिनुपर्ने वैधानिक व्यवस्था रहेको छ । 

यस अगाडि यस्तो परीक्षा अंग्रेजी भाषाका अलावा स्पेनिस, फ्रेन्च, कोरियन, चाइनिज, भियतनामी मूलकाले आफ्नो मातृभाषामा दिन पाउने व्यवस्था रहेको थियो । 

आगामी अक्टोबरको पहिलो सातादेखि नेपाली भाषीले गैरव्यावसायिक लाइसेन्स अर्थात् सी लाइसेन्स लिनका लागि नेपाली भाषामा परीक्षा दिन पाउने हुन् ।