काठमाण्डौ । भारतमा चिया सधैं हटकेकको बिषय बन्ने गर्छ । खासगरी राजनीतिको अखडामा चियाको चर्चा प्रायः भइरहन्छ । यही क्रममा चिया बिक्री गर्ने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको चर्चा तपाईले पनि सुन्नुुभएकै होला । तर, के तपाईले अहिलेसम्म कुनै अमेरिकीले भारत र नेपालमा पाइने चिया बेचेरै करोडौं सम्पत्ति जोडिन् भन्ने कुरा सुन्नुुभएको छ त ? पक्कै छैन होला । आज हामी तपाईलाई एक अमेरिकी वेबसाइटको सहयोगमा तयार मिडिया रिपोर्टबाट एक अमेरिकी युवतीको चाखलाग्दो कथा सुनाउँदैछौ, जसले चिया बेचेरै करोडौं रुपैयाँ कमाइसकेकी छिन्, त्यो पनि अमेरिकामा ।

समाचारमा जनाइएअनुसार खासमा अमेरिकाकी एक युवती ब्रुक एडी सन् २००२ मा भारतको भ्रमणमा आएकी थिइन् । यो क्रममा उनले उत्तरी भारतको गाउँको भ्रमण गरेकी थिइन् । त्यहाँ उनले मानिसहरुबीचमा चियाप्रतिको गज्जबको क्रेज देखिन् । अमेरिकी वेबसाइटका अनुसार ब्रुक एडीलाई भारतको चिया र त्यसको स्वाद औधी मन पर्यो । यहीँबाट एडीलाई अमेरिका फर्किएर चियाको विजिनेश गर्ने आइडिया फूरेको वेबसाइटले दाबी गरेको छ । 

२००७ मा विजिनेशको सुरुवात
एडीले आफ्नो अन्तर्वार्तामा भनेकी छिन् कि जब उनी आफ्नो कोलोराडोस्थित घर फर्किन्, तब उनले चिया बनाएर बिक्री गर्ने फरक खालको विजिनेश सुरुवातको प्रक्रिया थालेकी थिइन् । २००७ मा उनले अमेरिकामा ‘भक्ति चिया’ नामबाट यो विजिनेशको सुरुवा गरिन् । सुरुवाती दिनहरुमा उनले बनाएको चियाको स्वाद भारत र नेपालमा पाइनेजस्तो स्वादिलो थिएन । त्यहीँबाट एडीको नयाँ यात्राको सुरुवात भएको थियो । तर, केही समयपछि नै अमेरिकीहरु समेत भक्ति चियाको पारखी बन्न थाले ।

त्यसको एकवर्षपछि नै ‘भक्ति चिया’ले आफ्नो अलग्गै वेबसाइटको सुरुवात गर्यो । र, हेर्दा हेर्दै यो कम्पनीले मानिसहरुबीच अभूतपूर्व ठाउँ बनायो, लोकप्रियता कमायो । एडी जुम्ल्याहा सन्तानकी एक्ली आमा हुन् । 

कति भयो कमाई ?
‘भक्ति चिया’को विजिनेशबाट यी अमेरिकी युवतीले करोडौं रुपैयाँ कमाइन् । गत १० वर्षको अवधिमा उनले चिया बेचेरै ३६० करोड रुपैयाँ भन्दा बढी आम्दानी गरिन् । यस्तै, सन् २०१८ का लागि उनले ७ मिलियन डलर चिया बिक्री गरेर नाफा कमाउने टार्गेट बनाएकी छिन् । यो भनेको नेपाली करिब ७२ करोड रुपैयाँ हो । सन् २०१४ मा ब्रुक एडी तिनै पाँचजना व्यवसायीको सूचिमा परेकी थिइन्, जसलाई इन्टरप्रेनियर पत्रिकाले इन्टरप्रेनियर अफ दि इयरको रुपमा छनौट गरेको थियो ।