वासिङ्टनडिसी । अर्थमन्त्री डा. युवराज खतिवडा हाल अमेरिकाको भ्रमणमा छन् । त्यहाँ उनले अन्तराष्टिय दातृ निकायहरुलाई नेपालमा लगानीको वातावरण बनेको भन्दै उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेका छन् भने नेपाललाई सहयोग गर्दै आएका विश्व बैंक लगायतका निकायहरुलाई लगानी बढाउन समेत आग्रह गरेका छन् । उनले अमेरिकामा के गरिरहेका छन् त ? नेपाली दूताबासको सहयोगमा तयार एक रिपोर्ट:

नयाँ निर्वाचन पश्चात गठित सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल सहितको तीन सदस्यीय प्रतिनिधिमण्डलले अगस्ट ६ देखि तीन दिनसम्म चल्ने नेपाल र विश्व बैकको नेपाल सहायता सम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिइरहेका छन् । 

अर्थमन्त्रीले नेपालको विकास साझेदारी खाका सम्बन्धी विश्व बैङ्कका कार्यकारी निर्देशकहरूको सुंयक्त बैठकलाई सम्बोधन गर्दै  आगामी ५ वर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरेका थिए ।

उनले नेपाललाई आगामी सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न  क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको, नेपालले निरन्तर सुधारलाई अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए । 
उनले सन् २०३० सम्म मध्यम स्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको उल्लेख गरेका थिए । 

कार्यकारी निर्देशकहरूले राखेका विविध जिज्ञासाहरू खासगरी स्थानीय तहको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा उनले  प्रष्ट्याएका थिए । 

सोही दिन विश्व बैकको मुख्यालय वासिङ्टनडिसीमा अर्थमन्त्री डा.  खतिवडा र विश्व बैङ्कका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष श्रीहार्टविगसेफर बीच भेटवार्ता समेत भएको थियो । सो क्रममा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका सङ्घीयता कार्यान्वयनको बिषयमा चासो दिएका थिए । 

खतिवडाले नेपालमा  तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भै करिब ३६,०००जनप्रतिनिधि निर्वाचित भएका र ती जनप्रतिनिधिहरू मार्फत जनताका अपेक्षाहरू पूरा गर्न सरकार कटिवद्ध रहेको बताएका थिए  । उनले नेपालको आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता औंल्याएका थिए । यसमा सरकार निजी क्षेत्रसँग  मिलेर कार्य गर्न तत्पर रहेको बताउँदै सङ्घीयताको व्यवस्थापन र विकास वित्तको लागि आन्तरिक साधन र स्रोतमात्रै अपर्याप्त हुने भएकोले विश्व बैङ्कसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताएका थिए ।


विश्व बैङ्कका क्षेत्रीय उपाध्यक्षले नेपालले छोटो समयमा राजनीतिक रूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउँदै विश्व बैक समूह एकीकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिएका थिए । उनले विश्व बैंकको अन्तराष्ट्रिय विकास सहयोग र अन्तराष्ट्रिय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरू लगायतबाट नेपालको उर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

उनले सो क्रममा भनेका थिए राजनैतिक परिवर्तन पछि जनताका अपेक्षाहरू धेरै छन् । तीव्र आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय सहितको विकास र समृद्धि हाम्रा लक्ष्य छन् । हामीले सबै किसिमका वित्तीय श्रोतहरूबाट उच्च सहयोगको अपेक्षा गरेका छौ ।

विश्व बैङ्कका नेपाल समेत हेर्ने कार्यकारी निर्देशक डा. आन्दिन हादियान्तोले अगस्ट ८ को बैंक बोर्ड बैठकमा छलफल हुने प्रस्तावित नेपालको विकासमा साझेदारी खाकाबारे जानकारी गराउँदै विश्व बैकको बोर्डबाट हालसम्म भएका नीतिगत निर्णयहरू बारे जानकारी गराएका थिए ।

अर्थमन्त्रीले सो अवसरमा पनि नेपालको विकासमा थप सहयोगको आवश्यकता बारे जानकारी गराउँदै बैङ्कको बोर्डमा हुने छलफलमा नेपालको पक्षमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

यसैगरी, अर्थमन्त्रीसँग विश्व बैङ्कका उर्जा र वित्तीय कोषका निर्देशक लगायतका पदाधिकारीहरूले समेत अगस्ट ६ मै भेट गरी नेपालको उर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा विविध आयामहरूका गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । 

सो अवसरमा  खतिवडाले नेपालको तत्काल चालू आयोजनाहरूका अतिरिक्त ठूला आयोजनाहरूको निर्माणमा विश्व बैङ्कले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरेका थिए । 

उनले उर्जा क्षेत्रमा कानूनी, संरचनागत लगायतका सुधारमा निरन्तरता रहने र लगानीमैत्री वातावरण सृजना गर्नमा सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

विश्व बैङ्कको सो टोलीले नेपालको उर्जा क्षेत्रको विकासमा बैङ्क समूहबाट गर्न सकिने सम्भावित सबै सहयोग उपलब्ध गराउन तत्पर रहेको केही आयोजनामा लगानी निर्णय गर्न लागेको र सहयोगको लागि उपयुक्त अवसरको प्रतीक्षा गरेको बताउँदै क्षेत्रीय उर्जा विकासको सम्भावना बारे चर्चा गरेका थिए ।


विश्व बैङ्कका कार्यवाहक प्रमुख अर्थशास्त्री सान्तादेव राजनले समेत सोही दिन अर्थमन्त्रीसँग भेटघाट र छलफल गरेका थिए । सो छलफलमा खतिवडाले  नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासहरूबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालिएको बताएका थिए । देवराजनले नेपालले वित्तीय तथा मौद्रिक क्षेत्रमा गरेका सुधारको प्रशंसा गर्दै विश्व बैङ्कले आफ्ना असल अभ्यासहरू नेपालसँग आदानप्रदान गर्दै जाने आश्वासन दिएका थिए । 

सोही साँझ अर्थमन्त्रीको सम्मानमा राजदूत डा. कार्कीले आयोजना गरेका विशेष कार्यक्रममा विश्वबैंकका उपाध्यक्ष  हार्ट विगसेफर, कन्ट्री डाइरेक्टर कुमियो फ्यान, कन्ट्री म्यानेजर फेरिसएच हदादजेरभोस, युएसएडका अधिकारीहरू, मिलेनियम च्यालेन्ज कर्पोरेसनका पदाधिकारीहरू लगायत सहभागी रहेका वासिङ्टनडिसीस्थित नेपाली दूताबासले जनाएको छ । 

अगस्ट ७ मा के-के भयो ?

नेपाली राजदूतावास अमेरिका र अन्तराष्ट्रिय वित्त संस्थाको संयुक्त आयोजनामा भएको लगानीकर्ताको सम्मेलनलाई अर्थमन्त्री डा. खतिवडाले सम्बोधन समेत गरेका छन् । यो कार्यक्रम अगस्ट ७ मा भएको थियो । 

सम्बोधनको क्रममा अर्थमन्त्री खतिवडाले नेपालमा हालै सम्पन्न निर्वाचनबाट लामो समयको अन्तराल पछि सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकोले लगानीको लागि अनुकुल वातावरण कायम भएको बताएका छन् । 

उनले नेपालको संविधान र कानुनले लगानीकर्ताको निजी सम्पत्तिको संरक्षण गर्ने सुनिश्चितता प्रदान गरेको तथा विदेशी लगानी, कर तथा श्रम कानूनहरू लगानीमैत्री रहेका बताएका छन् । 

लगानी बोर्ड मार्फत समेतबाट एकल विन्दु सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको, दक्षिण एशियामा नै नेपालको कर्पोरेट करको दर प्रतिस्पर्धात्मक रहेको, उर्जा, यातायात पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधार क्षेत्रमा उच्च प्रतिफल युक्त लगानीको सम्भावना रहेको औंल्याए । 

साथै उक्त सम्मेलनमा विभिन्न लगानीकर्ताहरूका जिज्ञासाहरूलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपाल लगानीको आकर्षक गन्तव्य मुलुक भएकोले ढुक्क भएर पर्यटन  होटल, एयरपोर्ट, केबलकार तथा साहसिक पर्यटन यातायात पूर्वाधार  हवाइ, रेल्वे, सार्वजनिक यातायात तथा सहरी पूर्वाधार  मेट्रो रेल, मोनोरेल केबलकार जस्ता क्षेत्रमा लगानी गर्न आव्हान गरे । 

सो अवसरमा विश्व बैङ्कका नेपाल निर्देशक चिमाउ फ्यानले नेपाल लगानीको लागि अभूतपूर्व अवसर रहेको मुलुक भएको धारणा राखेका थिए । 

यस अघि मिलेनियम च्यालेन्ज कर्पोरेसनको अमेरिकी डलर ६३० मिलियनको सम्झौता कार्यान्वयनलाई तीव्रता दिने सम्बन्धमा उक्त कर्पोरेसनका कार्यवाहक प्रमुख रवर्ट ब्लाउर, सञ्चालन प्रमुख जनाथन नास लगायत उच्च व्यवस्थापन तहसँग समेत अर्थमन्त्रीले छलफल गरेका थिए । 

त्यस्तै अन्तराष्ट्रिय मुद्रा कोषका डेपुटी म्यानेजिङ डाइरेक्टर ताउ झाङ सँग नेपाललाई प्रदान गर्ने प्राविधिक तथा वित्तीय सहयोगको विषयमा छलफल भएको नेपाली दूताबासले जनाएको छ । 

अन्तराष्ट्रिय वित्त निगम आइएफसिका उपाध्यक्ष नेना ईष्टोल्जोकोभिक तथा उच्च व्यवस्थापकसंग नेपालमा माथिल्लो त्रिशूली जलविद्युत आयोजना तथा अन्य सम्भाव्य क्षेत्रमा निजी लगानी गर्ने र नेपाल सरकारले गर्ने पूर्वाधार सम्मेलनलाई सफल बनाउने सम्बन्धमा अर्थमन्त्रीले छलफल गरेका थिए । 

नेपालको विकास चुनौतीलाई सम्बोधन गर्न नेपालमा हालै भएको राजनैतिक परिवर्तन र स्थिर सरकारको गठनले आफूहरू उत्साहित भएको र उच्च स्तरको सहायता उपलब्ध गराउन विश्व बैँक समूह प्रतिवद्ध रहेको कुरा विश्व बैङ्क अन्तराष्ट्रिय वित्त निगम आइएफसिका उपाध्यक्ष नेना ईष्टोल्जोकोभिक, विश्व बैंकका नेपाल निर्देशक  चिमाउ फ्यान तथा नेपाल व्यवस्थापक  फेरिस हदादजेरवोसले बताएका थिए । 

यसैबीच, अगस्ट ७ मै विश्वबैंङ्कले अमेरिकी डलर १०० मिलियन(करिब ११अर्ब)वित्तीय क्षेत्र सुधारका लागि बजेट सहयोग स्वीकृत गरिएको जानकारी दिएको थियो ।