वासिङ्टन, संयुक्त राज्य अमेरिका(रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ)लाई ब्याजदर बढाएर ‘अर्को गल्ती’ नगर्न आग्रह गरेका छन् ।

“मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले आज(मङ्गलबार)को ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,”उनले ट्वीटर सन्देशमार्फत बताएका छन् । 

 “बजारलाई थप अतरल बन्नबाट जोगाऊँ । बजारलाई बुझौँ । अर्थहीन सङ्ख्याको पछि नलागौँ । शुभकामना !” 

मङ्गलबारको जर्नलको सम्पादकीयमा व्याजदर वृद्धि रोक्न आग्रह गरिएको छ । केन्द्रीय बैंकले नीति निर्माणका लागि दुई–दिने बैठक बोलाएका दिन ट्रम्पको उक्त भनाई आएको हो । 

बैंकको सन् २०१८ को अन्तिम बैठकले व्याजदर बढाउने अनुमान गरिएको छ । यदि व्याजदरमा वृद्धि गरिएमा यो बर्षको चौथो पटक हुनेछ ।