काठमाण्डौ । दुईछाक टार्नका लागि विश्वका लाखौं, करोडौं मानिसले खूनपसिना बगाउनुपर्छ । तर, यही विश्वमा कोही मानिस यस्ता पनि छन्, जसले हरेक दिन अँगालो मारेरै लाखौं कमाउँछन् । 

अमेरिकाको कान्सासमा बस्ने रोबिन स्टीनले मानिसलाई अँगालो मारेरै लाखौं कमाइरहेकी छिन् । खासमा उनले मानिसलाई अँगालो मारेर उनीहरुको तनाव कम गर्ने काम गर्छिन् । रोबिनका अनुसार उनी मानिसलाई आफ्नो अँगालोमा बेरेर टच थेरापी गर्छिन् र यस्तो खालको थेरापीबाट मानिसको तनाव कम गर्न सकिने उनको दाबी छ । खासमा रोबिन अमेरिकाको व्यवसायिक कडलिस्ट हुन् ।

उनले एक घण्टासम्म तनावमा रहेका मानिसलाई अँगालोमा मारेको ८० डलर चार्ज लिने गर्छिन् । यो व्यवसायलाई कडलिङ पनि भनिन्छ । उनले वेबसाइटको माध्यमबाट आफ्ना क्लाइन्टहरुसँग सम्पर्कमा बस्छिन् । 

रोबिनले मानिसहरुलाई अँगालो मार्ने केही नियम रहेका बताएकी छिन् । उनका अनुसार पूरा कपडा लगाएका मानिसलाई मात्र उनले अँगालो मार्छिन् ।

उनको दाबी अनुसार एकल जिन्दगीका कारण मानिसको तनाव बढिरहेको छ । यहीकारण मानिसहरु तनाव कम गर्न उनकोमा आउँछन् र एकघण्टा उनको अँगालोमा हराएर राहात महसुस गरी फर्कन्छन् । 

रोबिनले यो थेरापीको क्रममा आफ्नो क्लाइन्टलाई अँगालो मारेर उनीहरुसँग कुरा गर्छिन् र उनीहरुको कुरा समेत ध्यानले सुन्छिन् । उनका ग्राहकहरुमा १७ वर्षका किशोरकिशोरीदेखि ७० वर्षसम्मका पाका मानिसहरु समेत छन् । उनका ग्राहकहरुमा पुरुष मात्र हुँदैनन्, महिलाहरुलाई समेत उनले यो सेवा दिने गर्छिन् । 

रोबिनले अँगालो मार्ने एउटा सेसन १ घण्टादेखि ४ घण्टासम्मको हुन्छ । यो क्रममा उनले हग मात्र गर्छिन् । तपाईले पनि हग बाहेक अन्य केही गर्न पाउनुहुनेछैन ।

रोबिनले यो कामबाट आफूलाई खुशी प्राप्त हुने बताएकी छिन् । हग गरेपछि(अँगालो मारेपछि) तनाव कम हुने उनको विश्वास छ । उनका अनुसार अँगालो मार्नका लागि अविवाहित, विवाहित, डिभोर्सी, जेष्ठ नागरिक लगायत सबै खालका मानिसहरु आउने गर्छन् ।

रोबिन ४८ वर्षीया हुन् । उनले कडलिस्टको पूरा तालिम लिएकी छिन् । उनले मानिसलाई अँगालो मार्न मात्रै हप्तामा ४५ घण्टा समय खर्चिन्छिन् ।

हप्तामा १० घण्टा चाहि उनी आफ्ना ब्वाइफ्रेण्डलाई हग गर्छिन् भने ७ घण्टा आफ्नो बिरालोसँग बिताउँछिन् । उनका ब्वाइफ्रेण्डलाई समेत उनको व्यवसायको बिषयमा जानकारी भएको उनले बताइन् । 

स्पर्श थेरापी यसै पनि सदियौं पुरानो उपचार विधि हो । मालिश गर्नु पनि टच थेरापीकै एक रुप हो । तर, यसरी कसैलाई अँगालो मारेर टच थेरापी गर्ने चलन केही वर्षअघिदेखि मात्रै सुरुवात भएको हो । सन् २००३ देखि न्यूयोर्कमा कडलिंग पार्टीको सुरुवात भएको थियो । आज अमेरिकामा इन्टरनेटमै कैयन कडलिंग वेबसाइटहरु बनेका छन् र यिनै माध्यमबाट यो सेवा पाउन सकिन्छ । 
(एजेन्सीबाट भावानुवाद)