काठमाण्डौ । कोरोना भाइरस संक्रमणको महामारीको चपेटामा परेको अमेरिकामा एकैदिन १२५५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८७१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकामा ३० हजार ३३१ नयाँ संक्रमित थपिएका छन् । योसँगै अब अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी पुगेको छ । 

अमेरिकामा संक्रमितमध्ये ९ हजार हाराहारीको अवस्था गम्भीर रहेको छ । 

अमेरिकापछि फ्रान्समा पनि एकैदिन ८३३ संक्रमितले ज्यान गुमाएका छन् । योसहित फ्रान्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९११ पुगेको छ । 

त्यहाँ कुल संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । 

यो दिन स्पेनमा ७०० र इटलीमा ६३६ संक्रमितको मृत्यु भएको छ । योसँगै स्पेनमा मृतकको संख्या १३ हजार ३४१ र इटलीमा १६ हजार ५२३ पुगेको छ । स्पेनमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार र इटलीमा १ लाख ३२ हजार पुगेको छ । 

बेलायतमा पनि एकैदिन ५३९ संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ३७३ पुगेको छ । यहाँ कुल संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जर्मनीमा २२६, इरानमा १३६, बेल्जियममा १८५, ब्रजिलमा ७८, स्वीडेनमा ७६, टर्कीमा ७५, क्यानडामा ४३, रोमानियामा २५, भारतमा १८ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टाभित्र विश्वभर कोरोना संक्रमणबाट थप ५ हजार २२९ ले ज्यान गुमाएका छन् । यस्तै, यो अवधिमा  ७३ हजार १४२ नयाँ केश थपिएका छन् । 

हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ भने कुल संक्रमितको संख्या १३ लाख ४६ हजार माथि पुगेको छ ।