काठमाण्डौ । अमेरिकाको स्थायी भिजा(ग्रीन कार्ड) प्राप्तिको इच्छा राख्नेहरुलाई थप मुश्किल पर्ने भएको छ । अमेरिकी अधिकारीहरुले ग्रीन कार्डका लागि आवेदन गर्ने प्रत्येकसँग अब विशेष अन्तरवार्ता लिनेछन् । यो प्रक्रियाले भिजा आवेदन प्रक्रियाको गति निकै ढिलो हुनसक्ने र ग्रीन पाउने समग्र प्रक्रिया नै थप कठीन बन्नसक्ने विश्लेषण गरिएको छ । 

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले शुक्रबार यही कुरालाई पुष्टि गर्दै भनेको छ कि रोजगारप्राप्त भिजावाला व्यक्तिले यदि स्थायी नागरिकताका लागि आवेदन गर्छन् भने उनीहरुले विशेष अन्तर्वार्ता दिनुपर्ने हुन्छ । 

यस्तै, शरणार्थी परिवारका भिजा होल्डर्स सदस्यले समेत प्रोभिजनल स्टेट्सका लागि आवेदन दिंदा अन्तर्वार्ताको झञ्झटिलो प्रक्रिया पार गर्नुपर्नेछ । त्यसपछि मात्र ग्रीन कार्ड प्राप्त हुनेछ । यो नयाँ नीति आगामी अक्टोबर १ देखि लागू हुने अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख छ । 

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तर्फबाट जारी गरिएको एक तथ्याङकअनुसार सन् २०१५ मा १ लाख ६८ हजार आप्रबासीले यो श्रेणीको स्थायी नागरिकता प्राप्त गरेका थिए । यसमा सबैभन्दा बढी १ लाख २२ हजार रोजगारमा आधारित भिजाको तर्फबाट स्थायी नागरिकतामा आवेदन दिएका व्यक्ति परेका थिए । 

अन्तर्वार्ताको अनिवार्यता राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो योजनाको मुद्धा हो, जसमार्फत उनले अमेरिकामा आउने प्रवासी तथा पर्यटकहरुको अधिक परीक्षण चाहेका छन् । 

स्मरणरहोस्, ट्रम्प सत्तामा आएपछि एच वान बी भिजाको प्रक्रियालाई समेत निकै कसेका थिए, जसको प्रत्यक्ष असर हजारौं आप्रबासीमा देखिएको थियो । यस्तो भिजा यस्ता व्यक्तिहरुका लागि जारी गरिन्छ, जसको कुनै खास काममा खास विज्ञता रहन्छ । अमेरिकी सिटिजनशीप तथा इमिग्रेसन सर्भिसेजका अनुसार यी खास कामहरुमा वैज्ञानिक, इञ्जिनियर तथा कम्प्युटर प्रोग्रामिङ प्राथमिकतामा हुन्छ । 

प्रत्येक वर्ष करिब ६५ हजार मानिसलाई चिठ्ठाको माध्यमबाट समेत यस्तो भिजा जारी गरिन्छ ।