काठमाडौँ । बुधबार अमेरिकी डलरको मूल्य २७ महिनायताकै सर्वाधिक उचाइमा पुगेको छ । नेपाल राष्ट्रबैंकले बुधबारका लागि  एक अमेरिकी डलरको खरीद दर एक सय ८ रुपैयाँ ६२ पैसा तथा बिक्री दर १०९ रुपैयाँ २२ पैसा तोकेको छ । 

यसअघि २०७२ साल माघ २९ गते डलरको भाउ एक सय ९ दशमलव ४८ रुपैयाँमा रहेको थियो । त्यसपछि डलरको भाउ १०९ रुपैयाँ भन्दा माथि पुगेको यो नै पहिलो हो ।

पछिल्लो समय अमेरिकाले खाडी राष्ट्रबाट तेल आयात कम गरी आफ्नै उत्पादन बढाएसँगै ऊ विश्वमै सबैभन्दा बढी तेल उत्पादन गर्ने देशको नजिक छ । आन्तरिक उत्पादन तथा उत्तरकोरियासँगको तनाव समेत कम भएपछि अमेरिकी अर्थतन्त्र सवल भएका संकेतहरु देखिँदा डलरको भाउले नयाँ उचाई चुमेको हो । 

योसँगै डलरको भाउ मजबुत बन्दै गएको छ भने भारतीय अर्थतन्त्र कमजोर बन्दा भारु दिनहुँ अवमूल्यनमा परिरहेको छ । भारु कमजोर हुँदा ऊसँग स्थिर विनिमय भएको नेपाली मुद्रा समेत कमजोर बनेको हो । 

विज्ञहरुले भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा र कच्चा तेलको मूल्य बढ्दै जाँदा यस्तो अवस्था भएको दाबी गरेका छन् । अमेरिकी डलरसँग भारतीय मुद्रा १६ महिनायताकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ । २०१७ जनवरीपछि भारु सबैभन्दा तल्लो स्तरमा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । बुधबारका लागि भारतीय केन्द्रीय बैंक(रिजर्ब बैंक अफ इण्डिया)ले भारुको डलरसँगको सटही दर ६७.५२ रुपैयाँ तोकेको छ । 

अमेरिकामा चट्टान प्रशोधन गरी पेट्रोलियम पदार्थ शेल आयलको उत्पादन शूरु भइसकेकाले उसले तेल आयात कम गरेको हो । हाल अमेरिकाले तेल आयातमा व्यापक कटौती गरेको र आगामी केही वर्षमा अमेरिकामा शेल आयलले पेट्रोलियम पदार्थलाई विस्थापन गर्ने विश्लेषण गरिँदै आएको छ । 

डलर बलियो भन्दा नेपाली मुद्रा सोही अनुसार अवमूल्यनमा पर्छ, जसका कारण आयात गरिने सम्पूर्ण वस्तु तथा सेवा महंगो पर्नेछ । डलरको मूल्य बढ्दा व्यापार घाटा उच्च रहेको नेपाल झनै कमजोर बन्ने र पेट्रोलियम पदार्थ खरीदका लागि समेत बढी रकम खर्चनुपर्ने भएकाले समग्र मूल्य वृद्धिमा सहयोग पुग्ने विश्लेषण गरिएको छ ।

यसैगरी नेपालले विदेशीबाट लिएको ऋणसँग समेत डलरको सम्बन्ध रहेको हुन्छ । डलर महंगो बन्दै जाँदा नेपाली मुद्रा कमजोर हुने भएकाले विदेशी ऋण चुक्ता गर्न खरीद गरिने डलरका लागि थप रकमको जोहो सरकारले गर्नुपर्ने हुन्छ  ।

समग्र व्यापार तथा वैदेशिक ऋणमा डलर बढ्दा नकारात्मक असर पर्ने भए पनि रेमिटेन्स प्राप्त गर्ने राष्ट्रमा यसको असर केही सकारात्मक पनि हुन्छ । विदेशी मुद्रा नेपाल पठाउँदा नेपालीले तुलनात्मक रुपमा बढी रकम प्राप्त गर्छन् । तर महंगी बढ्ने भएकाले सो रकमले पनि उपभोक्तालाई खासै सकारात्मक प्रभाव पार्दैन ।