काठमाण्डौ । शिया बाहुल्य इरानलाई अलगथलग बनाएसँगै उसको अर्थव्यवस्थामा चोट पुर्याउने उद्देश्यले अमेरिकाले ऊमाथि लगाएको निकै कडा प्रतिबन्धको असर देखिन थालेको छ । आर्थिक संकटबाट गुज्रिरहेको इरानको मुद्रा लगातार र तीव्र गतिमा कमजोर बनिरहेको छ । डलरसँग इरानी रियालको मूल्य शनिवार १ लाख १२ हजार पुगेको छ । यसको अर्थ एक डलर खरीदका लागि इरानले १ लाख १२ हजार रियाल खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

त्यसको अघिल्लो दिन एक डलरको मूल्य ९८ हजार रियाल थियो । जनवरी १ मा डलरसँगको विनिमय दर ३५ हजार १ सय ८६ रियाल रहेको थियो । 
डलरको तुलनामा रियालको औधी गिरावट बितेको ४ महिनाभित्रै आएको देखिएको छ । यो पहिलोपटक गत मार्चमा ५० हजारको स्तरभन्दा अझ तल झरेको थियो । त्यहाँको सरकारले अमेरिकी डलरसँगको विनिमय दरलाई अप्रील महिनाभरि ४२००० रियालमा स्थिर राख्ने कोशिश गरेको थियो र सो क्रममा कालोबजारी गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी समेत दिइएको थियो । तर, त्यो अस्त्र काम लागेन । परिणामस्वरुप रियाल, डलरको तुलनामा दिनहुँ तीव्र रुपमा कमजोर बन्दै गएको मिडिया रिपोर्टहरुमा बताइएको छ । 

इरानका सर्वसाधारण अर्थव्यवस्थामा आएको भीषण गिरावटबाट चिन्तित देखिएका छन् र उनीहरु डलरलाई नै सञ्चित गर्ने प्रयासमा लागेका कारण थप संकट उत्पन्न भएको समाचारमा जनाइएको छ । 

इरानी सरकारलाई त्यहाँका बैंकका अधिकारीहरुले समेत साथ नदिइरहेका दाबी गरिएको छ । यहीकारण इरानी राष्ट्रपति हसन रुहानीले गत साता केन्द्रीय बैंकका प्रमुखलाई नै पदच्यूत गरिदिएका थिए । यसको मुख्य कारण अर्थव्यवस्था डामाडोल हुन लाग्दा समेत सरकारलाई नसघाएको आरोप थियो ।

सन् २०१५ को मई महिनामा अमेरिका न्यूक्लियर सम्झौताबाट अलग्गिएको थियो । र, त्यसपछिदेखि नै इरानले पुनः एकपटक प्रतिबन्धको सामना गर्नु परिरहेको छ । अमेरिकाले ६ अगस्ट र ४ नोभेम्बरपछि इरानलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइदियो । यो निर्णयका कारण कैयन विदेशी कम्पनीले इरानसँगको कारोबार नै बन्द गर्नुपर्यो । यसपछि नै इरानको करेन्सी(मुद्रा)मा लगातार गिरावट आउन थालेको हो ।